भूपदेव माली,
सप्तरीमा भारदहको कंकालिनी भगवती मन्दिर र सखडाको छिन्नमस्ता भगवती मन्दिर पूर्वी नेपालको प्रसिद्ध मन्दिर हो, जहाँ लाखौं हिन्दु श्रद्धालुहरुले पूजाअर्चना, दर्शन भेंट, बलिभोग एवं साधना गर्न पुग्दछन् । यी मन्दिर मध्ये हनुमाननगर कंकालिनी नपा १ भारदहका कंकालिनी मन्दिर कोशी नदीको पश्चिमी छेउ, पूर्वपश्चिम लोकमार्गको छेउ स्थित रहेकोले नेपाल तथा भारतका लाखौं हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा प्रसिद्ध छ । यद्यपि यो मन्दिर संस्थागत भएको वर्षौ वितिसक्दा पनि दिर्घकालिन सोचको अभावमा तिर्थ एवं पर्यटकीय स्थलको रुपमा अपेक्षाकृत विकास एवं ब्यवस्थापन हुन सकेको छैन । मन्दिरमा दिन प्रतिदिन श्रद्धालुहरुको आगमन बढ्दै जाँदा उत्सवहरुमा भद्रगोल प्रकृयाले गर्दा दर्शनार्थीलाई सास्ती भोग्नुपरेको हुन्छ।यतिबेला दशैं पूजा सफल सम्पन्न गर्न भारदह ग्रामवासीले चर्चा –छलफलमा लागि परेको अवस्थामा प्रस्तुत यो दृष्टिकोण–विचार लाभदायक हुने अपेक्षा गरिएको छ ।
मन्दिरको परिचय तथा अवस्था
मंगलामाया, कल्याणमयी पराम्बा भगवती दुर्गा संसारको विभिन्न स्थानहरुमा विभिन्न नामबाट प्रसिद्ध छन्, जसमध्ये भारदहमा अवस्थित ’कंकालिनी भगवती’ नामले प्रसिद्ध छन् । कंकालिनी भगवती देवी एवं यस स्थानको मनन गर्दा स्थान दिव्यदेश र मन्दिर दिव्य स्थल हुनुपर्दछ । यद्यपि साविकमा पूर्वतिरबाट कोशी नदीको बहाव पश्चिम तर्फ बढदै जाने क्रममा भारदह स्थान तथा मन्दिर पश्चिम तिर सर्दै गरेको हुँदा वर्तमानमा नेपालको जिल्ला सप्तरी, हनुमाननगर कंकालिनी नपा वडा नं. १ ,भारदह स्थित रहेको छ । नेपालका विशाल नदी कोशीको पश्चिमी छेउ, पूर्वपश्चिम लोकमार्गको उत्तरी छेउसंग गाँसिएको यो विशाल एवं आकर्षक मन्दिर पाँचौ वा छैठौ स्थानमा निर्मित मन्दिर हो । विभिन्न कालखण्डमा कोशी नदी कटानका कारण स्थापित–विस्थापित हुदै गर्नाले सायद दिव्यस्थलको पहिचानबाट हाराउँदै गएको हुनु पर्दछ । तथापि यतिबेला नेपालका सप्तरी, सिरहा, धनुषा, उदयपुर, सुनसरी, मोरंग, झापा र भारतको विहार राज्यको सुपौल, सहर्षा, अररिया, मधुबनी जिल्ला लगायतका स्थानमा रहेका हिन्दुहरुको शक्तिपिठको रुपमा आस्थाका केन्द्र बन्न गएको छ ।
कंकालिनी भगवती मन्दिर भित्र विराजमान विग्रहहरु(मुर्तिहरु) अनन्त शक्तिहरुको केन्द्रभूता महाशक्तिको अंग केहुनी(कुर्पर) हो । वैदिक कथाको अनुसार शक्तिको अंग जुनजुन स्थानमा पात भयो (झर्यो) ती सबै स्थानहरु दिव्य शक्तिहरुको अधिष्ठान मानिन्छन् र ती सबै स्थानहरु ‘शक्तिपीठ’ शक्तितत्वको प्रकाट्य धेरै नै हुने गर्छ । यस मन्दिरमा शक्तिको केहुनी अंग संगै दुईवटा भैरवहरु, भद्रकाली(कालिका), विष्णु, गणेश, शिवलिङ्गको विग्रह(मुर्ति) विराजमान छन्, जो शत्तिपीठको पूर्ण प्रमाणिकता प्रदान गर्दछ ।
यस मन्दिरको सबभन्दा ठूलो उत्सव वा पूजा बडादशैं हो, यो बेला दश दिन सम्म विषेश विधि द्वारा नवरात्र पूजा हुने परम्परा छ । यो बेला टाढाटाढाका भक्तजनहरुले भाखल चढाउन वा खसी, बोका, हाँस, रागाँको बलिभोग चढाउन ५० हजार भन्दा वढी संख्यामा आउने गर्छन । यसबेला भक्तजनलाई सरल एवं सहज रुपमा मातालाई दर्शन एवं पूजा आर्चना गर्न कठनाई हुने गर्दछ । छयापछयाप्पी मानिसहरुको भिड अनियन्त्रित हुनुले भक्तजनलाई सास्ती भोग्नु पर्ने हुन्छ । अझ त रागाँ बलि स्थल (महिषा सुर परिसर) मा रागाँ बलिप्रदानको बेला कार्यरत स्वयंसेवक दलका केही उच्चश्रृङखल यूवाहरु द्वारा उपद्रवी क्रियाकलापले गर्दा शन्तिपूर्ण रुपमा बलि गरिने कार्य गाह्रो हुन्छ ।
मन्दिर संस्थागत हुनुभन्दा पूर्व दशैं उत्सव सफल पार्न समस्त ग्रामवासीले स्वयंसेवकको रुपमा निस्वार्थभावले सामुहिक रुपमा परिश्रम गर्ने गर्दथ्यो । सफल पनि हुन्थ्यो । किनभने त्यो बेला कसैलाई निजी लाभको भावना थिएन, मन्दिरलाई धार्मिक वा साँस्कृतिक धरोहर सम्झेर सामुहिक भावनाको अन्तर्गत आ–आफ्ना जिम्मेवारी वहन गर्ने परम्परा थियो । अब त्यो रहेन । यतिबेलाको युवाहरुमा मन्दिर हाम्रो धरोहर एवं हाम्रो परम्परा हो र यसको सम्बर्धन गरिने भावना रहेन । यतिबेलाको युवाहरुमा अध्यात्म ज्ञानको अभावमा मन्दिर हाम्रो धरोहर एवं हाम्रो स्थानको पहिचान हो भन्ने भावनामा ब्यापक ह्रास आएको छ । कारण के भने मन्दिरको आन्तरिक एवं बाह्य आम्दानी बढदै जाँदा मन्दिर समितिमा जाने ब्यक्तिहरुको निजी स्वार्थ सिर्जित भई कर्तव्यको दुरुपयोगिताले समिति बाहेकका यूवाहरुमा द्वेष, इर्ष्याको भावना उत्पन्न हुदै जाँदा मन्दिर प्रति सहयोग गरिरहने भावनामा ह्रास आउँदै गएको पाईन्छ । केही समितिका पदाधिकारीहरुको एकहोरो कार्यशैली, स्वार्थ, दम्भ र मै ठूलोको प्राचुर्यताबाट खिन्न ग्रामवासीहरुमा सामुहिक भावनाको विकास न्यून हुदै गयो । अझ त केही ब्यक्तिहरुले एउटा पदाधिकारीलाई तल देखाउन हरसम्भव प्रयास समेत गरिन्छन् ।
एक धार्मिक वा मन्दिर समितिले मन्दिरको समग्र हितको संरक्षण गर्नुपर्छ
कुनै–कुनै मठमन्दिरको समिति द्वारा मन्दिरमा पूजा–आर्चना गर्नका निमित आउने भक्तजनसंग विभिन्न प्रकारका पूजा–मंत्र संकल्प वा दक्षिणाको नामबाट अनुचित रकम लिने गरिन्छन, यसो गर्नु भनेको भक्तजनको शोसन गर्नु हो । वर्तमान परिवेसमा मन्दिरमा रहेका पूजारी एवं मन्दिर समितिका केही पदाधिकारीहरुले आफुलाई देवीदेवताको ठेकेदार ठान्दै ‘धर्म’ शब्दलाई भौतिक कामरुपी बेदीमा बलि चढाईदैछ । यस्ता पदाधिकारीहरुले दिव्यज्ञान(अध्यात्मिकता) द्वारा बंचित भई बाघ र व्याँसो समुदायको जस्तो व्यवहार गरेर सोझा भक्तजनलाई (हिन्दु धर्म तथा देवीदेवताको शक्ति माथि आस्था राखी मन्दिरमा पूजाअर्चना गर्न आउँदा शोषणको शिकार हुनेहरुलाई) नकारात्मक प्रभाव पार्दै क्रिश्यिन धर्म वा अन्य धर्मप्रति आकर्षित भई धर्म परिवर्तन सम्म गर्ने गरेका तितो सत्यलाई हामीले बुझ्नु आवश्यक छ ।
धेरै मठ–मन्दिरका समितिहरुमा रहेका पदाधिकारीहरुले दम्भको बशिभूत भएर आफुलाई तार्किक तथा दर्शनिक भएको दर्शाउँदै भौतिक ज्ञानबाट उत्पन्न भ्रममा परेर आफ्ना इन्द्रियगत कमजोरी –दम्भका कारण मनोपली तथा एकहोरो कार्य एवं व्यवहार) देख्न सक्दैनन । उनले गरेका मनोपली कार्यहरुको दुस्प्रभावले हिन्दु मठमन्दिर – देवीदेवताहरुमा निहित अलौकिक शक्ति प्रति मानिसमा हुने आस्था–विश्वास माथि नकारात्मक असर पार्दछ । त्यसो भएको हुदाँ एक धार्मिक संस्था वा मन्दिर समिति द्वारा उत्सव, विशेष उत्सव तथा बेलाबेलामा समाजमा सत्यकर्म गर्न, भक्ति गर्न, अपराधिक क्रियाकलाप नगर्न वा भनुँ नशा, जुआ, यौणिक क्रियाकलाप नगर्ने खालका सकारात्मक तथा अध्यात्मिक ज्ञानका प्रवचन कार्यक्रमको प्रस्तुती दिनु पर्छ । किनभने आजको अवस्थामा हाम्रा समाजका यूवा युवतीको अध्यात्मज्ञानको अनुशिलनलाई वेवास्ता गरेका कारण क्षणिक भौतिक सुविधाहरु आनन्दको वशीभूत भई विभिन्न प्रकारका नशा सेवन एवं दुराचार क्रियाकलापमा भ्रमित छन ।यी भौतिक सुविधाहरु आपुर्तिका लागि अपराधिक विषको प्रभावमा तडपीरहेका छन, रुमलिरहेका छन् । यसलाई रोक्ने जिम्मेवारी एक धार्मिक संस्था वा समितिको पनि हुनु पर्दछ ।
एक मन्दिर समितिको काम – कर्तव्यको अन्तर्गत समाज सुधारका कुराहरु धार्मिक, पर्यटनलाई प्रोत्साहित गर्ने विषयहरु, तिर्थ क्षेत्र वा मन्दिर क्षेत्रलाई सुन्दर क्षेत्र बनाउने समाहित भएको यथार्थ बुझ्नु पर्दछ । मन्दिर क्षेत्र योगगम्य निरपेक्ष मुक्ति साधनाको आधार हुनु पर्दछ ।
दसैं उत्सव अझ आकर्षक तथा मेलाको आयोजन
भगवती मन्दिरमा हुने दशैं पूजालाई थप आकर्षक एवं लामो अवधिसम्म पार्नका लागि मेलाको आयोजना गर्नुपर्छ। यसका लागि तिम्न कार्यहरुलाई कार्यान्वयन गर्नुपर्छ (क) दशैं पूजाको घटस्थापनाका दिन भव्य कलश – भरण शोभायात्रा निकालिने,(ख) बेली परीक्षण शोभा यात्रालाई परम्परागत एवं आधुनिक बाजा सहित थप आकर्षक पार्दै परिक्रमा मार्ग अझ लामो एवं फराकिलो पार्ने।(ग) नवरात्रको अन्तिम दिन अर्थात टीकाको दिन रावणको पुतलादहन कार्यक्रमको आयोजन गर्नुपर्छ, जो कार्यक्रममा रावणको पुत्ला निर्माण गरी सो पुत्लामा पट्टाकाहरु प्रयोग गरि सिंगारेर धनुषवाण द्वारा प्रहार गरी दहन गर्न परम्परा बसाल्उनु पर्छ।
(घ) पूर्णिमाको दिन माता को श्रीविग्रहलाई रथमा राखेर रथयात्रा निकालेर नगर परिक्रमा गर्नुपर्छ।
(ङ) उपरोक्त घटस्थापनाका दिन देखि पूर्णिमाको दिन सम्म टावरझुला, रेलगाडी, मौतका कुवां, सर्कस, थिएटर आदि मनोरञ्जनका साधनहरु द्वारा मेलाको आयोजना गर्नुपर्छ। यसप्रकारको कार्यक्रमहरुलाई प्रत्याभूत गरिदिँदा मन्दिरको महातम्य एवं मान्यता बढ्नेछ।
मर्यादित स्वयंसेवक दलको गठन
संसारका अधिकांश ठुलाबडा मन्दिरहरूमा उत्सव,मेला, यात्रा शोभायात्रा आदिको बेला मानिसको भिड नियन्त्रण गर्न, भक्तजनलाई मार्गदर्शन तथा सहयोग सेवा गर्नका लागि स्वयंसेवक परिचालन गरिने व्यवस्था हुन्छ । स्वयंसेवक दल गठन कतिपय स्थानमा मन्दिर संचालन वा व्यवस्थापन समितिले गरिएका हुन्छन् भने कतिपय स्थानमा स्वतन्त्र रूपमा विभिन्न नामक युवा क्लबहरु गठन भएका हुन्छन्। धार्मिक संस्था वा मन्दिर समितिबाट गठित स्वयंसेवक दलले आफैंमा अन्तःकरणको शुद्धि गरिएका हुन्छन्। दलका प्रत्येक सदस्यहरुले लोभ, क्रोध , निर्दयतालाई परित्याग गर्दै सयमपूर्वक आफूभित्र रहेका बल, विद्या,रुप,पद, अधिकार एवं जातिलाई गौण राख्दै अध्यात्मिक पद्धति एवं प्रक्रियाका साथ निस्वार्थ भावमा समाजिक सेवामा तत्पर रहन्छन् । यसप्रकारका स्वयंसेवकहरुले मन्दिरका उत्सवहरुमा सहयोग गर्नु सँगै समाजमा व्याप्त कुरीतिहरुलाई न्यूनीकरण गर्ने ,नशाका लत्त लागेका युवायुवतीहरुलाई सन्मार्गमा ल्याउने , जातिवादलाई उन्मूलन गर्ने, समाजमा रहेको द्वन्द्व हटाएर शान्तीको वातावरण सिर्जित गर्दै भातृत्व भावनाको विकास गर्ने , समाजमा नैतिक तथा अध्यात्मिक जागृति ल्याउने, आफ्नो क्षेत्रलाई सफा र सुन्दर बनाउने, दैवी प्रकोपका अवस्थामा इमानदारीसाथ उद्धार कार्य – सेवा प्रदान गर्ने, मन्दिर क्षेत्रलाई दिव्यदेश ( दिव्यस्थल ) बनाउन महत्वपूर्ण भूमिका खेल्ने गरेका हुन्छन्।
कंकालिनी भगवती मन्दिरमा आयोजना हुने वार्षिकी उत्सव तथा विभिन्न कार्यक्रमहरूमा शान्ति सुव्यवस्था मिलाउन एक स्वयंसेवक दलको गठन गरिनुपर्छ। यद्यपि गठन गर्दा शिक्षा, रंग,लिगं र जातिको विभेदको आधारमा निषेधित गरिने व्यवधानलाई अन्त्य गरि गठन गर्नुपर्छ र गठित स्वयंसेवक दलका सदस्यहरू लाई दक्ष प्रशिक्षक बाट आचार, शिष्टाचार, मर्यादा,अध्यात्मज्ञान बाट प्रशिक्षित गर्नुपर्छ।
संस्कृतिक टोलीको गठन
मन्दिरमा आयोजना हुने विभिन्न उत्सव, विषेश उत्सवमा थप आकर्षक बनाउन धार्मिकतामा आधारित नृत्य,गायन कार्यक्रमहरुको प्रस्तुति दिनका लागि मन्दिर समिति द्वारा एक संस्कृतिक टोलीको गठन गर्नुपर्छ।गठित सो टोलीलाई ३ श्रेणीमा विभाजन गर्नु पर्छ (क) वादक एवं गायक टोली , (ख) नृत्य एवं अभिनय मञ्चन टोली,(ग) मिथिलाको परमपरागत ढोल, तासा,पंचेबाजा (सहनाइ )टोली।
(क)वादक एवं गायक टोलीले भजन – किर्तन एवं मंचमा जाग्राम भजनका लागि प्रस्तुती दिने छ, (ख) नृत्य एवं अभिनय मन्चन टोलीले मञ्चमा विभिन्न धार्मिक कथामा आधारित नृत्य एवं नाट्यकलाको प्रस्तुती दिने छ र (ग) मिथिलाको परम्परागत ढोल ,ताशा, पंचेबाजा (सहनाइ) टोलीले मन्दिरबाट निकालिने विभिन्न शोभायात्राहरुमा एवं रांगा बलि प्रदान प्रांगणमा उक्त बाजाहरू बजाउँदै शोभा यात्राको आकर्षण बढाउने कार्य गर्छन् । गठित सांस्कृतिक टोलीले मिथिलाको परम्परागत गित, भजन–कीर्तन , नृत्य –नाटक कलामा आधारित कार्यक्रमहरूको प्रस्तुति दिनेछन्, जसले गर्दा मिथिलाको संस्कृति अक्षुण्ण राख्नमा थप सहयोग पुग्नेछ।
साधुसन्त एवं निसहायहरूका लागि भोजन तथा बासको व्यवस्था
भगवानको स्वरूपको साक्षात्कार गरिएको भगवत्वप्रेमी महात्माहरु स्वयं ’तीर्थरुप’ हुन्छ, त्रृदयीमा भगवान सधैं प्रकट रहन्छ ।त्यसैले त्यो जुन – जुन स्थानमा पुग्छ ,ती सबै स्थानहरु ’तीर्थस्थल’ बन्न पुग्छ। त्यसो भएको हुँदा साधु – सन्तहरुले मन्दिरमा पुगेर शरण लिँदा वा बस्दा मन्दिर समितिबाट उहाँलाई भोजन तथा बास दिएर सेवा सत्कार गर्नु पर्छ र संगै मन्दिर क्षेत्रलाई तीर्थ रुप दिनका लागि अपाङ्गता भएकालाई,विधवा यात्रुलाई ,वृद्ध – वृद्धा यात्रुलाई, निसहाय यात्रुलाई र मान्सिक सन्तुलन बिग्रिएका वा सुस्त मनोस्थितिका व्यक्तिहरूका लागि भोजन एवं बासको व्यवस्था समितिबाट प्रदान गरिनुपर्छ।
मन्दिरको महातम्य एवं धार्मिक शिक्षाको विकास
धार्मिक शिक्षाले मानवको दैनिक जीवनमा महत्वपूर्ण स्थान राख्दछ। धर्मले मानवमा यो भाव उत्पन्न गर्दछ कि– ईश्वर सर्वशक्तिमान् हो तथा सृष्टिको सञ्चालक हो ।अतः अपराध एवं अन्य खराब कर्म गर्नु हुँदैन ।यसैले एक मानवले अरु कसैको प्रति ईर्ष्या, द्वेष राख्नु हुँदैन र न त कसैको अनिष्ट गर्नु पर्ने हो। सबै मानिसले परस्परमा मिलेर बस्न सिकाउँछ। धार्मिक शिक्षाले मानिसमा सद्गुणको बिकास गर्छ। धार्मिक शिक्षाको ग्रहण गरी सदाचारी, नम्र ,इमान्दार, परोपकारी र सत्यप्रिय बन्न प्रेरणा प्रदान गर्छ। आध्यात्म शिक्षाले मानिसलाई कुकर्म मार्ग तिर जान बाट रोक्दै सन्मार्गतिर जान प्रेरित गर्दछ। त्यसो भएको हुँदा धार्मिक शिक्षाको विकास संगै कंकालिनी भगवती मन्दिरको प्राकट्य शक्ति तथा महिमाको प्रचार प्रसार गर्नुपर्छ। मन्दिरको शक्तिको बारेमा विभिन्न प्रकारका लेख ,पुस्तिका, सञ्चार पत्रपत्रिकाको माध्यम द्वारा प्रचारप्रसार गरी भ्रमित मानिसहरूलाई माताको प्रति सद्भाव, भक्ति– भाव उत्पन्न गर्ने माध्यमको रुपमा यो आध्यात्मशिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यसप्रति समितिले कार्य गर्नुपर्छ।
पर्यटकीय प्रवर्द्धन तथा विकास
मन्दिर क्षेत्रमा बृहद विकासको अवश्यकता छ । मन्दिरका वरिपरि विहार सरकारको मातहतका सैकडौं विगहा जग्गाहरु, ताल (दह ) को रुपमा रहेको छ ।सो जग्गाहरुलाई सदुपयोग गर्नुपर्छ ।ताललाई अवश्यकता अनुसार सरसफाई एवं खनिएर चारैतिर चौडा डिलहरूको निर्माण गरी सो डिलहरूमा ग्रिन पार्क (हरियो बगैंचा) सिंगारिएर तथा पिकनिक स्पोर्टस ( वनभोज स्थल )निर्माण गर्नुपर्छ । निर्मित तालको मध्य केन्द्रको पानीमा एक सुन्दर एवं आकर्षक सूर्य मंदिर निर्माण गरेर र विधिवत स्थापना गरिएर सञ्चालन गर्नुपर्छ । स्थापित मन्दिरमा पुजा – दर्शन गर्न जाने यात्रुहरुलाई बोटबाट जाने प्रबन्ध गरी बोटमा बसेको वापत सहयोग शुल्क लिनु पर्दछ ।यसरी नै पिकनिक स्थलको सरसफाई वापत पिकनिक मनाउन आउनेहरू सँग आवश्यक सहयोग शुल्क लिनुपर्छ। मन्दिरको पूर्व बांध छेउको डुबान क्षेत्रको जग्गामा माटो पुरिएर होटल, रेस्टुरेन्ट ,गाडी पार्किङ, मेला स्थल तथा विभिन्न पसलहरुको निर्माण गर्दै सो बापत भाडा शुल्क लिएमा मन्दिरको कोष बढ्नुको संगै स्थानियहरूको रोजगारी समेतको प्रबल सम्भावना भएकाले समितिले सो कार्य प्रति चासो राख्दै नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्छ।
मन्दिर प्रतिको दृष्टिकोण यथास्थितिमा राख्नुभन्दा मन्दिरको सर्वांगीण विकास गरेमा यहांका स्थानीय वासीहरुको रोजगारीको विकास संगै यस स्थानको आर्थिक समृद्धि हुनेहुँदा मन्दिर विकास समितिले मन्दिर विकास समितिले चासो राखी कार्यान्वयन तर्फ जानुपर्ने आजको आवश्यकता रहेको छ।
(लेखक पत्रकार हुन् ।)