भूपदेव माली
राजविराज, २२ असोज ।
भारदहको कंकाली भगवती मन्दिरमा हुने दसैं पूजाको अवसरमा मन्दिर सजावट कार्यहरु तीनजना व्यवसायीलाई प्रदान गरिएको छ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– १, भारदहमा अवस्थित कंकालिनी भगवती मन्दिरमा दशै पूजाको अवसरमा फूल सजावट, साउण्ड सेट र टेन्ट – पण्डाल एवं बिजुलीको सजावट तीनजना व्यवसायीहरुलाई प्रदान गरिएको हो।
मन्दिर प्राङ्गणमा रहेको कंकालिनी मन्दिर (मूल मन्दिर), गणेश मन्दिर, महादेव मन्दिर र महावीर मन्दिरको सिंहासन तथा द्वारहरुमा कृत्रिम एवं प्राकृतिक फूलहरू बाट सजावट भारदहका अमृत फ्लावर डेकोरेशन प्रो. फूलदेव माली, साउण्ड सिस्टम सेटको कार्यभार राम बाबा डिजे साउण्ड प्रो. बद्री मण्डललाई र टेन्ट पंडाल एवं बिजुली सजावट मा कंकालनी टेन्ट प्रो. नागो मण्डललाई घटस्थापनादेखि टीकाका दिनसम्मका लागि मन्दिर विकास समितिले जिम्मा दिएका छन्।
मन्दिर विकास समितिद्वारा उक्त कार्यहरु समयमै गर्न शर्त सहित प्रदान गर्दै मन्दिर क्षेत्रका चारै तिर बिजुली सजावट र भक्तजनहरु का लागि बास बस्न वाटरप्रुफ पंडालको निर्माण कार्यमा कुनै प्रकारको त्रुटिहरू हुन नदिने सर्तमा मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलको हस्ताक्षर सहित बोलपत्र प्रक्रिया द्वारा सो कार्यहरू उपरोक्त व्यवसायीहरु लाई दिएको छ।
यसरी नै मन्दिर क्षेत्रको चारै तिर सडकको पेटी,बांधको दुवै तर्फ, पोखरीका डिलहरु तथा मन्दिर परिसरमा सरसफाई गरी कीटनाशक औषधि ( लामखुट्टे मार्ने औषधि )छर्ने कार्य मन्दिर विकास समितिका सदस्य बिनोद रजको जिम्मा रहेको समितिका उपाध्यक्ष लक्ष्मण मण्डलले जानकारी गराउनुभयो।