भूपदेव माली,
राजबिराज, २३ साउन ।
नेपाल कम्युनिष्ट पार्टी एमाले सप्तरी नेतृत्वको जनमानसले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत प्रधानमन्त्रीलाई विभिन्न माँग राखी ज्ञापन पत्र हस्तान्तरण गराएका छन् ।
एमाले सप्तरी जिल्ला अध्यक्ष ताराकान्त चौधरीको नेतृत्वमा नेता एवं सैकडौं कार्यकर्ताहरू द्वारा सप्तरी जिल्लालाई सूक्खा क्षेत्र घोषित गर्नु पर्ने लगायतका कृषि सम्बन्धी विभिन्न माग राखेर सिडिओ मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्।
मंगलवार दिउसो एक बजेको समयमा पार्टी कार्यालयबाट निस्केका जुलुसले जिल्ला प्रशासन कार्यालय पुगेर हस्तान्तरण गरिएको ज्ञापन पत्रमा सप्तरी जिल्लालाई तत्काल सुख्खा क्षेत्र घोषणा गरी पिडित किसानहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, सम्पूर्ण किसानहरुको जग्गामा सिंचाईको व्यवस्था गर्नुपर्ने, मलखाध उपलब्ध गर्नुपर्ने, पशु लम्पि स्किन नामक रोगबाट मरेको पशुको क्षतिपूर्ति दिनुपर्ने र यस रोगको अविलम्व रोकथाम र उपचारको व्यवस्था गर्नुपर्ने गरी पाँच सूत्रिय माँग राखीएको पार्टीका जिल्ला सचिव देवनाथ यादवले जानकारी दिनुभयो ।
नेपाल कृषि प्रधान देश हो र कृषि उपजको हृदय स्थल मानिएको यहाँ धान खेतिलाई मुख्य खेतीवालीको रुपमा लिइन्छ, त्यसमा पनि मधेश प्रदेशमा धानवालीको उब्जाउ बढि हुने जिल्लाहरुमा सप्तरी एक हो ज्ञापन पत्रमा भनिएको छ। यस जिल्लामा सबैभन्दा बढि मान्छे कृषिमा निर्भर रहेको छ । मधेशमा लामो समयदेखि मौसमी बर्षा नभएको कारण किसानहरुले लगाएका धानवालीमा गम्भिर असर परेको ज्ञापन पत्रमा समेटिएको छ । यसैगरी सप्तरीमा रोपाइ भएका ८५ प्रतिशत मध्ये ५५ प्रतिशत जग्गामा धानवाली प्रत्यक्षरुपमा खडेरीको मारमा परेको उल्लेख छ ।
भूमिगत जलस्रोतको स्तरमा ब्यापक कमीका कारण भूमिगत सिंचाई स्यालो ट्युववेलमा पर्याप्त मात्रामा पानी नआएको उल्लेख गर्दे विधुतिकरणको पहुँचबाट अझैं धेरै किसानहरु हालसम्म बञ्चित रहेकोले भुमिगत सिंचाईमा प्रभावित भएको ज्ञापन पत्रमा छ । नेपालको संविधान २०७२ को भाग ३ को धारा ३६ मा प्रत्येक नागरिकलाई खाध वस्तुको सुनिश्चितता हुने हकसंगै सोहि संविधानको अनुसूची ६ ले प्रदेशको अधिकार र कर्तव्य अन्तर्गत कृषि तथा पशुपंक्षी विकासको जिम्मेवारी अनुसार हाल देखा परेको लम्पि स्किन रोगले किसानलाई थप पिडा दिएको जनाइएको छ ।
यस्तो विषम परिस्थितिमा मधेश प्रदेश सरकार र संघिय सरकारले कृषकको समस्या समाधान गर्न कुनै प्रकारको कार्यक्रम भएको छैन यस्तो गैर जिम्मेवारी प्रति नेकपा एमालेको गम्भिर ध्यानाकार्षण भएको जनाएको छ ।
ज्ञापनपत्र हस्तान्तरण जुलुसमा केन्द्रीय सदस्यद्वय दिवाकर देवकोटा, सरीता गिरी, प्रदेश सदस्य बसन्त कुमार मिश्र, मो. कलिम मियाँ, हिरण्य गुप्ता, कल्पना चौधरी, जिल्ला पार्टी सचिव देवनाथ यादव, सह सचिव अखलेश झा लगायतं सयौैको संख्यामा नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी थापाले ज्ञापन पत्र स्विकार गर्दै तपाईहरुको माँगलाई सम्वोधन गराउन सरकारलाई ज्ञापन पत्र पेश गरी जिल्लाको वस्तु स्थितिवारे जानकारी दिने बताए ।