भूपदेव माली
सप्तरी/कार्तिक १३ गते।
हिन्दुहरूको आस्थाको महान पर्व “छठ पर्व “को आधारमा आइतबार बेलुकी सूर्य देवतालाई दिने साँझको अर्घ्य् अनुष्ठान सम्पन भएको छ।
चारदिनसम्म नियम- निष्ठापूर्वक मनाइने यो पर्वको तेस्रो दिन अर्थात शुक्लपक्षको पंचमी तिथिका दिन छठ पर्व गर्ने ब्रतालु द्वारा दिने साँझको सूर्य देवतालाई अर्घ्य अनुष्ठान कार्य सम्पन भएको हो।
सद्धभाव र भातृत्वको प्रतिक समेत मानिने यस पर्वलाई बडो हर्षाेल्लासका साथ मधेसका मानिसहरुले नदी ताल तलैया वा पोखरी किनारमा सिंगार गरेर तयार पारेका घाट,सो घाटमा अझ केराका थम्बा, झिलिमिली बत्ती र कागजका झालर- फूलहरू द्वारा सिंगारिएर बनाइएको उक्त अनुष्ठान स्थलमा पानीमा गई ब्रतालुहरुले अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व मनाउने गरिन्छ।
तराई-मधेसका ८०% प्रतिशत भन्दा बढी हिन्दुहरुले मनाउने यो पर्वको पहिलो दिनमा व्रतालुले सात्विक भोजन गरिने, दोस्रो दिन नुहाएर खाने अर्थात खरनाको दिन, तेस्रो दिन व्रतालु उपवास रहेर ठकुवा ,खीर, केरा एवं विभिन्न प्रकारका फलफुल आदि द्वारा व्रतालुले सूर्य अस्ताउने बखत नदी ,पोखरी वा तालतलैयाको पानीमा पसेर सूर्य देवतालाई अर्घ्य दिने र चौथो दिन सूर्य उदाउने बेलामा सूर्य देवतालाई अर्घ्य दिएर वर्त समापन पश्चात व्रतालुले अन्य ग्रहण भोजन गर्ने परम्परा रहेको छ।
१२औं शताब्दीतिर भारतको बिहार राज्य स्थित देव भन्ने ठाउँबाट प्रचलनमा आएको छठ पर्व यतिबेला भारतको विभिन्न राज्य तथा नेपालमा पनि व्यापक रुपमा मनाउन थालिएको देखिन्छ। यति मात्र नभई प्रत्यक्ष रूपमा देवतालाई देखिने हुँदा यदाकदा अन्य धर्म – संप्रदायका मानिसले पनि छठ पर्व माथि आस्था राखि मनाउन थालिएको देखिन्छ।
सप्तरीको कोसी ब्यारेजको घाट, भारदहको कंकालिनी भगवती मन्दिर मन्दिर निकट रहेको भारीदह तालाबको घाट, राजविराजको शिवमन्दिर स्थित पोखरीमा यो पर्व मनाउन भारी संख्यामा ब्रतालुहरुको उपस्थित हुने गरेको देखियो ।प्रचलनमा छठ पर्वलाई छठी मैया भन्ने गरे पनि खासमा कार्तिक तथा चैत्र महिनाको शुक्लपक्षको छैटौं दिन सूर्य देवतालाई अर्घ्य दिने गर्नाले सूर्य पूजा हो, सूर्य अनुष्ठान नै हो। हिन्दुहरूको प्रमुख पर्वहरू मध्ये छठपर्व पनि एक हो भन्दा अतिशयोक्ति नहोला। यद्यपि छठपर्व हिन्दुको मात्र नभई अन्य धर्मालम्बीहरूको पनि भएको केही विद्वानहरूको ठहर छ।