देशमा कोभिड १९ कोरोना माहामारीले प्रलय देखाउन कुनै कसर छोडेको छैन भने अर्को तिर महंगाईले प्रलय मचाएको छ । कोरोनाका कारण प्रतिदिन सैकडौं मानिसले ज्यान गुमाउनु परेको छ । कोरोनाको भयले देश अक्रान्त भएको यो अवस्थामा देश हाँक्ने शिर्ष नेताहरुको दृृष्टिमा देशमा व्याप्त अत्याधिक महंगाई गौण परेको देखिन्छ ।
कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले लगाएको निषेधाज्ञाबाट लाभ लिन ठल्ठुला व्यापारीहरु द्वारा खाद्यान्न सामग्रीहरुको मोलमा अत्याधिक बृद्धि गरी बढी मुनाफा तिर केन्द्रित भएका छन् । लकडाउनको बहानामा समानको अभाव भएको भन्दै समानहरु गोदाममा स्टोक गरी कालोबजारी गर्न लागेका छन् । व्याप्त मूल्य बृद्धिको अराजकतालाई नियन्त्रण गर्ने देश हाक्ने सरकारमा बसेका नेताहरुको ध्यान सत्ता कसरी टिकाउने तथा विपक्ष दलका नेताहरुको ध्यान सत्तामा जानेतिर मात्र केनिद्रत भएको यो अवस्थामा व्यापारीहरु मनमानी मोल असुल गर्न सुलभ अवसर प्राप्त गरेका छन् ।
लामो लकडनका कारण सर्वसाधारण जनताले प्रयाप्त रोजगारी नपाउनाले दुईछाक भोजनको व्यवस्थामा संघर्ष गरिरहेका छन् भने झन त्यसमाथि चर्को मोलमा खाद्यान्न सामग्री किन्ने सास्ती भोग्नु परेको अवस्था रहेको छ ।
बाजारमा खाद्यान्न सामग्रीको मूल्यमा बृद्धि मात्र नभई हरियो साग तरकारीहरुको मुल्यमा पनि ब्यापक बृद्धि भएको देखिन्छ । हुनत नेपाल सरकारले कृषि हाट बाजार लगाउन रोक लगाउन प्रयत्न गरिएपनि खासै प्रभावकारी हुन नसक्दा खासगरी गाउँदेहातमा लुकी छिपी वा बाजार लाग्ने स्थान परिवर्तन गरी विक्री वितरण गर्ने क्रम जारी नै रहेको छ सँगै केही व्यापारीहरुले गाउँटोलमा डुली बेच्ने चर्को मूल्यमा हरियो तरकारीहरु बेच्ने गरेका छन् ।
समष्टिगत रुपमा हेर्दा लकडाउनको आँडमा चर्को मूल्यमा सामानहरु बेचेर वढी मुनाफा कमाएर मालामाल हुने भएका छन्भने अर्को तिर सर्व साधारण जनताहरुले वढी मोल तिरेर शोषणमा परेका छन् ।
कोरोना जस्तो घातक महामारीको संकटपूर्ण अवस्थामा सर्वसाधारण जनताबाट अनुचित लाभ लिनु अन्याय भएकोले अनूचित लाभ लिने विक्रेताहरु माथि कानुनी कार्वाही हुनु आवश्यक भएकोले यसतर्फ सरोकारवालाले आवश्यक पाईला चल्नु पर्दछ । यस तर्फ सरकारको ध्यान जानु पर्दछ ।
सम्पादकीयको विचार……………