भूपदेव माली
राजविराज, २३ भाद्र ।
सप्तरीमा सहिद रामकृष्ण राउत स्मृति प्रतिष्ठानद्वारा दुई जना उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ।
आइतबार सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं १ स्थित कंकालिनी भगवती मन्दिरको सभा हलमा सहिद रामकृष्ण राउत स्मृति प्रतिष्ठानद्वारा आयोजित सहिद रामकृष्ण राउतको नवौं स्मृति दिवस तथा छातवृत्ति वितरण कार्यक्रममा २ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो।
शहीद रामकृष्ण राउतका छोरा राजकुमार राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह द्वारा बीपी स्मारक पब्लिक माध्यमिक विद्यालय भारदहका छात्र पवन कुमार चौधरी एवं छात्रा पुष्पा कुमारी माझीलाई छात्रवृत्ति प्रदान गरिएको छ।
जितेन्द्र कुमार झा ज्योतिले मञ्च सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य धर्मपाल राउतले राखेका थिए भने जसपा नेता जय सुन्दर खिडहरी यादव ,नेता गजेन्द्र प्रसाद माझी ,पूर्व गाविस अध्यक्ष पवनकुमार मण्डल, पूर्व वडाध्यक्ष भीमराज मण्डल, वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्र मण्डल, कलाकार एवं व्यापार संघका पूर्व अध्यक्ष कुन्दन कुमार मण्डल लगायतकाले श्रद्धाञ्जली मन्तव्य राखेका थिए।
नेपालको राष्ट्रगानबाट प्रारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथिबाट मधेस आन्दोलनमा घाइते भएका देवनारायण विश्वास, गोपालराज मण्डल एवं सुरेन्द्र मण्डललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
सम्पन्न कार्यक्रममा देशमा संघीयता एवं मधेसीका सम्पूर्ण अधिकार प्राप्तिका लागि सहादत भएकाहरूको लागि उद्यान निर्माण एवं सहित परिवारका लागि रोजगारको व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए।
प्रमुख अतिथिको आसनबाट बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ’मधेस आन्दोलनका थल्लो रहेका भारदहका कृषकहरूका लागि भारदह क्षेत्रमा केरा बिक्री वितरण गर्न बजारको व्यवस्थापन र केराको थम्बबाट बन्न सक्ने विभिन्न प्रकारका कागज, कुट र केराको जराबाट डस्ट उत्पादन गर्ने उद्योग निर्माण गर्न मधेस प्रदेश सरकारले बजेट व्यवस्था गरिएको बताउँदै मधेस प्रदेश अन्तर्गत कृषि उत्पादन बढाउनका लागि आर्गनिक मल प्रयोग गर्न विभिन्न प्रकारका कार्यक्रमहरू मधेश प्रदेश सरकारले ल्याएको’ बताउनु भयो।
कार्यक्रमका विशिष्ट अतिथि मेयर वीरेन्द्रकुमार माझीले मधेस आन्दोलनको केन्द्रीय बिन्दु भारदह बजार क्षेत्र रहेकाले यहाँ सहादत प्राप्त गर्नेहरूको सम्झना स्वरूप सहिद उद्यान निर्माण गर्न पूरानो पार्कलाई नियन्त्रणमा लिई सोको लागि कार्य अगाडि बढाइसकेको बताउँदै केरा बगानभित्र बिजुली पुर्याउने तर्फ पनि कार्य भइरहेको बताउनु भयो ।