भूपदेव माली
राजविराज, २५ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढा टापुमा भारतीय नागरिकहरू द्वारा गरिएको गोली प्रहारबाट दुईजना स्थानीयहरु घाइते भएका छन्।
भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको छत्तौनी घर भई हाल नेपालकै सिमाना मा बसोबास गर्दै आएका नाम थाहा नभएको एक जना मुस्लिमले गोबरगाढाका बिन्देश्वर रामको भैसी चोरी गरी लगेको थाहा भएपछि सो व्यक्तिलाई स्थानीयहरुले पक्राउ गरी गोबरगाढा टोलमा बन्धक बनाएको हुँदा चोर पक्षका लगभग २५ जना मुस्लिमहरुले बन्दुक तथा कट्टा बन्दुकसहित हातहतियार साथ निज चोरलाई छुटाउने प्रयास गरेकोमा स्थानीयद्वारा प्रतिकार गर्दा भारतीय पक्षबाट ६ राउण्ड गोली चलाउँदा महेन्द्र पासमान सहित दुईजनालाई छर्रा गोली लागेर घाइते भएका हुन्।
भारतीय पक्षबाट गोली प्रहार हुँदा स्थानीयहरु कमजोर पर्न गइ उक्त चोरलाई छुट्टाएर भारततिर प्रस्थान गर्दा उता रतन पुरा थानाका महिला दरोगा नेतृत्वका गस्तीटोलीले चार जना ति बदमासहरु लाई समात्न सफल भएका तथा बाँकी फरार भएको वडा नम्बर–१३का वडाध्यक्ष कुशेश्वर यादवले जानकारी दिनुभयो।
गोबरगाढा टापुको पूर्व पट्टी कोसी नदी र पश्चिम पट्टी पनि कोशी नदी बीचमा गोबरगाढा टापु अवस्थित रहेकोले सुरक्षाको दृष्टिले संवेदनसिल स्थान हो ,जहाँ लुटपाटका र तस्करीका घटनाहरु भइरहन्छन्।
घाईते हुनेहरुलाई हनुमाननगरको अस्पताल लगिएको थाहा भएको छ। यद्यपि यो घटना बेलुकी साढे चार बजेतिरको भएकोले सत्यतथ्य जानकारी प्राप्त हुन सकेको छैन।