भूपदेव माली,
राजविराज, ३२ असार ।
वर्तमान अवस्थामा किसानहरुले भोगि रहेको रसायनिक मलको समस्यालाई छिट्टै समाधान गर्ने नव नियुक्त कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्र कुमार सिंह यादवले बताउनु भएको छ ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति सप्तरी द्वारा आयोजना गरिएको बधाई, स्वागत तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै उनले सो कुरा बताउनु भएको हो । किसानहरुको यतिबेलाको प्रमुख समस्या नै रसायनिक मलको अभाव रहेको हुनाले नेपाल सरकारले किसानहरुलाई छिट्टो नै सहज र सहुलियत रुपमा रसायनिक मल उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँदै साउनको पहिलो सातामा रसायनिक मल नेपाल भित्रयाउने जानकारी समेत उनले दिए ।
आफु दोस्रो पटक कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेकोले किसानको समस्याबाट आफु पीडित रहेको भन्दै ती समस्याहरु समाधान गर्न आफुले सदैव प्रयास गर्ने बताए । सोही कार्यक्रममा मन्त्री यादवले जिल्लामा निर्वाचित जसपाका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्षहरुलाई सम्मान समेत गरेका थिए ।
जनता समाजवादी पार्टीका सप्तरी अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद मनिष सुमन, पार्टीका केन्द्रिय सदस्य अमरनाथ मण्डल, जसमुल खाँ, युवा नेता किशोर कुमार यादव केसी, जसपाका प्रदेश सचिव दिनेश कुमार यादव, अमरकान्त झा सहितकाले शुभकामना मन्तव्य दिएका थिए ।