भुपदेव माली,
राजविराज, ०७ फाल्गुन ।
सप्तरी सहित देशका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरी प्रजातन्त्र दिवस मनाएका छन् ।
फाल्गुन ७ गते मनाउने प्रजातन्त्र दिवस प्रजातन्त्रका लागि विभिन्न राजनीति दल, नेता, कार्यकर्ता, तथा सहिदलाई सम्झिदै प्रजातन्त्र देशमा सदैव कायम रहने उद्देश्यले सो प्रजातन्त्र दिवस शनिवार मनाएका हुन । सोही अवसर पारेर नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कञ्चनरुप नगर कमिटी सप्तरीले कञ्चनरुप १२ स्थित रुपनगर चौकमा चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा गाडेर प्रजातन्त्र दिवश मनाएको छ ।
आयोजित कार्यक्रमको नेतृत्व गर्दै नगर अध्यक्ष जैनुदिन मियाँको नेतृत्वमा आएको युवाहरुको टोलीले राष्ट्रिय झण्डा गाडेर प्रजातन्त्र दिवश मनाएको हो ।
सो कार्यक्रममा बोल्दै अध्यक्ष मियाँले १ सय ४ वर्षिय जहानिया राणा शासनलाई फालेर ल्याएको प्रजातन्त्रको संरक्षण गर्नु युवाहरुको प्रमुख कर्तव्य रहेको बताए । रुपनगर चौकमा राष्ट्रिय झण्डा राखेर प्रजातन्त्र मनाउनुको मुख्य उदेश्य नेपालीको पहिचान रहेको उनले बताए ।
उनले भने एमसिसि नेपालको हितमा नरहेकोले कुनै पनि हालतमा पास गर्न हुँदैन पास गर्न खोजे युवा संघले सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
सोही क्रममा युवाहरुले एमसिसि को विरोधमा विरोध प्रदर्शन समेत गरेका थिए । एमसिसि मुर्दावाद, गो व्याक अमेरिका, देश बेच्न पाइँदैन जस्ता नारा समेत लगाएका थिए ।
सो अवसरमा नेकपा (एमाले) का नेताकार्यकर्ता , युवा संघको नेता कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । नगर अध्यक्ष जैनुदिन मियाँको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।