भूपदेव माली,
राजविराज, ०५ फाल्गुन,
सप्तरीको सप्तकोसी नगरपालिका कार्यालयमा स्थानीय चार राजनीतिक दलका कार्यकर्ताले तालाबन्दी गरेका छ्न ।
नगर पालिकाको कार्यशैलीमा बेरुजु तथा आर्थिक अनियमिताको विषय लिएर नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र),जनता समाजवादी पार्टी र नेकपा(एकीकृत समाजवादी)ले संयुक्त रुपमा आज बिहिवार नगरपालिकामा ताला बन्दी गरेका हुन ।
नगर कार्यलयको नगर प्रमुखको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा ताला लगाएको बताएको छ ।
ताला बन्दी गरेका सो राजनीतिक दलहरूले नगरपालिकामा महालेखा परिक्षणमा बेरुजुको रहेकाले आन्तरिक लेखापरीक्षणको विवरण उपलब्ध गराउनुपर्ने माग राखेका छन । यसैगरी कार्यपालिका र नगरसभाबाट पारित गरेका निर्णयहरुको विवरण उपलब्ध गराउनुपर्ने,राष्ट्रिय माध्यमिक बिद्यालय फत्तेपुर को भवन निर्माणको मापदण्ड अनुसारको ठेक्का प्रक्रिया पारदर्शी गर्नुपर्ने,अङ्ग्रेजी माध्यम कक्षा संचालन खर्च ब्याबस्थापनको विवरण उपलब्ध गराउनु पर्ने र आर्थिक वर्ष २०७८ र ०७९ मा नगरभित्रका ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने र कोभिड नियन्त्रणका नाममा भएको खर्च विवरण उपलब्ध गराउनुपर्ने सहितको ६ बुँदे माँग राखेका छ्न ।
ताला लगाएका सो राजनीतिक दलहरूका नगर कार्य समितिमा निर्वाचित भए पनि प्रतिनिधित्व भएपनि सो नगरपालिको विरुद्ध गत माघ २४ गते ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र विवरण उपलब्ध गराउनुपर्ने अल्टिमेटम दिएको थियो । ज्ञापनपत्र बुझाएको ११ दिन बितिसक्दा पनि माग सम्बोधन नभएकोले अन्ततः तालाबन्दी गर्नुपरेको संघर्ष समितिका संयोजक युवराज खनालको भनाइ रहेको छ । नगरपालिकाले संघर्ष समितिलाई बोलाएर वार्ताको माध्यमले ताला खुलाउने वातावरण बनाउने तिर लागेको नगर अध्यक्ष उत्तम गौतमले बताए ।