भूपदेव माली,
राजविराज, ०१ पौष ।
सप्तरीमा यतिबेला ट्राफिक प्रहरीले ट्राफिक नियम सम्बन्धी जनचेतना अभियानमा र नेपाल प्रहरीले गाँजाको बोट काट्ने अभियानमा सक्रिय भएका छन् ।
ट्राफिक प्रहरीको सप्ताह व्यापी कार्यक्रमहरुमा विभिन्न विद्यालयहरुमा गई विद्यार्थीहरुलाई सडक कसरी काटन्, सडक पेटीमा कुन छेउ हिडने आदि तथा सडकमा गुडने सवारी साधनका चालहरुलाई ‘दुर्घटना घटाऔं, मान्छे बचाऔं, सुरक्षित यात्रा हाम्रो चाहना’ नारा साथ चेतनामुलक संदेशहरु दिन व्यस्त रहेका छन् ।
सप्तरीको ट्राफिक पोष्ट भारदहका प्रमुख प्र.स.नी. उत्तम भण्डारीको नेतृत्वमा मंसिर २७ गते देखि ट्राफिक नियम सम्बन्धी विभिन्न चेतनामुलक कार्यक्रमहरु सम्पन्न गर्दै आएका छन् । विहिवार हनुमाननगर कंकालिनी नपा १ कोशी व्यारेज स्थित कोशी आधारभूत विद्यालयका छात्रछात्राहरुलाई जनचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
यसरी नै हनुमाननगर कंकालिनी नपा १ स्थ्ति इलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्र.ना.नि. चन्द्र प्रसाद यादवको टोलीले वडा नं. १ भारदह टोलका विभिन्न घरवारीहरुमा पुगेर गाँजाका बोटहरु काटेर आगो लगाई डढाउने कार्यमा तिव्रता दिएका छन् । मंसिर २५ गतेबाट गाँजाका बोटहरु काटने प्रारम्भ गरिएको सो अभियानमा पहिलो दिन १२ वटा, दोश्रो दिन २९४ वटा, तेश्रो दिन ६० वटा, चौथौ दिन ८० वटा गरी हालसम्म ४२६ घरधुरीको जम्मा ५५४ वटा गाँजाका बोटहरु काटेर नष्ट गरेका छन् ।