भूपदेव माली,
राजविराज, ०३ कार्तिक ।
युवाहरुको पहलमा थालिएको तिलाठी कोइलाडी गाउँपालिका–८ का पूर्ण अपाङ्गता भएका ३७ वर्षीय बौना दासको घर निर्माण कार्य पूरा भई निर्मित घर अपाङ्ग दासलाई हस्तान्तरण गरिएको छ । तोपा बजार स्थित विहिवार आयोजित एक कार्यक्रमका बीच तोपा बजार युथ, सप्तरी युथ नेपाल, सवल नेपाल र तिलाठी कोईलाडी गापाको सहयोगमा निर्माण भएको सो घर हस्तान्तरण गरिएको हो ।
तोपा बाजार यूथका अध्यक्ष कौशल यादवको अध्यक्षता एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवम् सप्तरी क्षेत्र नम्वर २ का सांसद उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, राष्ट्रियसभा सदस्य मृगेन्द्र प्रसाद यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले संयुक्त रुपमा दासलाई घरको साँचो हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले युवाहरुद्वारा गरिएको कार्यको प्रशंसा गरेका छन् । ‘युवाहरुद्वारा गरिएको सामाजिक कार्य प्रशंसायोग्य छ’ उनले भने–‘गलत बाटोमा लागेर जीवन बर्वाद गरिरहेका युवाहरुलाई पनि यस्तो कार्यले पक्कै पनि प्रेरणा मिल्नेछ र सामाजिक रुपान्तरणमा टेवा पुग्नेछन् ।’
पत्रकार श्यामसुन्दर यादवले युवाहरुद्वारा सामाजिक क्षेत्रमा थालिएको कार्यले खुशी लागेको बताए । ‘यहाँका केही युवाहरु कुलतमा लागेर आफु, घरपरिवार र सामाजलाई नै दुखित तुल्याइरहेको बेला यहाँका युवाहरुबाट भएको प्रयासले खुशी लागिरहेको छ’ उनले भने–‘सलाम छ यी युवाहरुलाई । जसले बौना दासजीको मात्रै होइन्, हाम्रो पनि अनुहारमा खुशी थपेको छ ।’
यस्तै सकारात्मक कार्यबाट अन्य युवाहरुले पनि सिक्ने एउटा पाठ बनेको छ घर निर्माण कार्य, उनले भने । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले युवाहरुको यस्तो कार्यमा सदैव साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सप्तरी युथ नेपालका अमर यादवले सञ्चालन गरिएको कार्यक्रममा ई.संजिवनारायण यादव, सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादव, उपाध्यक्ष मोहन यादव लगायतको उपस्थिती थियो ।