सम्पादकीय
सप्तरीको राजविराजस्थित रहेको सप्तरी कारागार पुरानो कारागार मध्येको एक कारागार हो र यो कारागार कुनै बेला अञ्चल स्तरीय कारागारको रुपमा थियो। कारागार निर्माण पुरानो शैलीमा सिमेन्टको स्थानमा माटोले जोडेर बनाएको थियो। जसकारण २०४५ को भूकम्पमा कारागारको पूर्वी पर्खाल ढल्नुको संगै भित्री भवनहरुमा पनि निकै क्षति भएको थियो ।कारागार निर्माण कालमा त्यतिबेलाको जनघनत्वको आधारमा निर्माण गरिएको थियो अर्थात १५ जना महिला गरी जम्मा १५५ जना कैदी बन्दीलाई राख्ने क्षमताको आधारमा बनाइएको थियो । तर यतिबेला कारागारमा कैदी – बन्दीहरुको अत्यधिक चापका कारण कैदी बन्दीलाई अमानवीय जीवन बिताउनु पर्ने बाध्यता रहेको छ।
हाल सप्तरीको कारागार भित्र महिलासहित चार सयको हाराहारीमा (कुनै बेला कम कुनै बेला बढी) कैदीबन्दी रहेका छन्। जसकारण विभिन्न प्रकारको रोग आदि समस्याहरु सँग झेल्नु परेको छ। अझ त सर्ने खालका रोग भएका बन्दीहरुका लागि छुट्टै सुत्ने कोठा व्यवस्था नहुँदा बिकराल समस्या रहेको देखिन्छ।
यतिबेला सप्तरी कारागार जिन्न मात्र नभई अति छोटो पर्न गएको अवस्था भएको सबैलाई थाहा भएकै कुरा हो। तर कारागार पुनर्निर्माण तर्फ स्थानिय तथा देशका शीर्ष नेता एवं सरकारलाई कुनै चासो भएको देखिँदैन। तसर्थ सप्तरीका कारागारको पुनर्निर्माण हुनु अत्यन्त जरुरी भएकोले यस तर्फ सम्बन्धित सबै निकायले पाइला चाल्नु आवश्यक छ।