अशोक झा राजविराज, २९ श्रावण ।
सप्तरीको अमरैयामा दुई पक्षबीच भएको झगडामा घाइते भएकाहरुका अवस्था सामान्य बन्दै गएको छ ।जिल्लाको बोदेबसाइन नगरपालिका वडा नं. १० अमरैयामा श्राद्धभोजमा बालबालिकाबीचको सामान्य विवाद उग्र बने पछि दुई पक्षबीच भएको सो झगडामा आधा दर्जन व्यक्ति घाइते भएका थिए । भोजको समय रातिमा भएको सामान्य झगडा अर्को दिन बिहान पुनः उग्र रुपमा भएको थियो ।
सो झगडामा स्थानीय १५ वर्षिय दिपेन राम, २१ वर्षिय राम दुलार राम, २४ वर्षिय चन्दन राम, १८ वर्षिय सुन्दर राम, १८ वर्षिय सरोज कुमार राम र ५० वर्षिया बच्ची देवी राम घाइते भए पछि रुपनी गाउँपालिका स्थित युनिक अस्पतालमा उपचार गराई रहेका छन् ।
घाइतेहरुमध्ये दिपेन, रामदुलार र चन्दन उपचार पश्चात घर फिर्ता भएका छन् भने बाँकीको अवस्थामा पनि सामान्य रहेको दिपेनका बुवा रामबाबु रामले बताएका छन् ।
घाइतेहरुको आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा तत्काल वडाका अध्यक्ष सुनित कुमार यादवले सहयोग गर्दैै आएको र आवश्यक परे नगरपालिकाका मेयर आतेष सिंह यादवले समेत सहयोग गर्ने आश्वासन दिएको घाइतको अभिभावक रतन रामले बताए । स्थानीय केही व्यक्तिहरुले विभिन्न सामाजिक संजाल मार्फत घटनालाई सुनियोजित तरिकाले प्रचारबाजी गर्ने कार्य गरी रहेको भन्दै त्यस्ता कपोकल्पित पोष्टहरु नगर्न आग्रह समेत गरेको छ । आलोक सागर यादव नामका व्यक्तिले सामाजिक संजालमा गरेको पोष्ट प्रति मधेश न्यूजले गरेको प्रश्न प्रति रतनले भने– “ती व्यक्ति घटनालाई राजनीतिकीकरण गर्न खोजेको मात्र हो ।” कसैले आफ्नो राजनीति भलोको लागि यो घटनालाई प्रयोग गर्न सक्दैन भन्दै त्यस्ता व्यक्तिहरुलाई समयमै सचेत हुन आग्रह समेत रतनले गरेको छ ।
सोही झगडामा संलग्न रहेको आरोपमा स्थानीय बाल कुमार यादवलाइ इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले पक्राउ गरेको छ भने अन्य व्यक्तिहरुको खोजीकार्य भई रहेको प्रहरीले जनाएको छ ।