अशोक झा… राजविराज, ०२ कार्तिक । सप्तरीको महादेवा गाउँपालिका वडा नं. ३ बथनाहा निवासी पूर्वमन्त्री डा. डम्बरनारायण यादवको ८६ वर्षको उमेरमा आइतबार निधन भएको छ। सप्तरीस्थित आफ्नो निवासमा चार दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि उनलाई विराटनगरस्थित नर्सिङ्ग होममा भर्ना गरिएको थियो। काठमाडौंमा बसोबास गर्दै आएका यादव एक महिना अघि सप्तरीस्थित घरमा बस्दै आएका थिए। ब्रेन हेम्ब्रेजका कारण उनको निधन आइतबार बिहान पौने पाँच बजे भएको उनका छोरा मनोज यादवले जानकारी दिए। पूर्व मन्त्री डा. यादवको केही वर्षअघि मुटुको बाइपास सर्जरी गरिएको थियो। वि.स. २०३६ साल जेठ १८ गते जनमत संग्रह गराउने दायित्वसहित गठित प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रीमण्डलमा यादव शिक्षा राज्यमन्त्री थिए। वीर अस्पतालका चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यसँग तत्कालीन राज्यमन्त्री यादवको विवाद हुँदा यादवले पद छाडेका थिए। वि.स. २०४० साल असार २९ गते लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा स्वास्थ्य मन्त्री रहेका यादव प्रजातन्त्र आएपछि नेपाल सद्भावना पार्टीमा सक्रिय थिए। उनी मधेशी नागरिक समाजको अध्यक्षको हैसियतामा विभिन्न सामाजिक कार्यमा समेत संलग्न थिए।