अशोक झा
गाईघाट, २४ चैत ।
निर्वाचन प्रक्रिया प्रति आपत्ती जनाउँदै नेपाल पत्रकार महासंघ उदयपुर शाखामा पत्रकारहरुको एक समूहले तालाबन्दी गरेको छ ।
प्रेस सेन्टरको अगुवाईमा निर्वाचन कार्यक्रम रद्दको माँग गर्दै विभिन्न संगठनहरुले गरेको तालाबन्दी र विवादका कारण उम्मेदवारी दर्तासमेत रद्द भएको छ ।
महासंघले निर्वाचन कार्यक्रम सम्पन्न गराउन बद्री काफ्लेको संयोजकत्वमा कमलबहादुर कार्की र बन्दना दनुवार सदस्य रहने गरी निर्वाचन समिति गठन गरेको थियो ।
प्रेस सेन्टरका केन्द्रीय सदस्य हरिकुमार राई, यदु ढकाल, प्रेस सेन्टर, उदयपुरका अध्यक्ष तुलसी कोइराला, प्रेस चौतारी उदयपुरका उपाध्यक्ष ईश्वर बलम्पाकी र क्रान्तिकारी पत्रकार महासंघका १ नं. प्रदेश संयोजक मधुकर थापा लगायतको टोलीले निर्वाचन समितिका संयोजक काफ्लेको भूमिका निष्पक्ष नभएको भन्दै प्रश्न उठाउँदै आएका थिए ।
समिति संयोजक नै फेरबदल गर्नु पर्ने माग आएपछि काफ्लेको ठाउँमा कौशल चेम्जोङलाई संयोजक बनाइएको महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिए । ‘उहाँहरुले प्रश्न उठाएपछि मैले निर्वाचन समितिको संयोजक नै फेरिदिएँ, मनोनयन रद्द गर्नुपर्छ भनेपछि त्यो पनि रद्द भएको उनले बताए ।