अशोक झा राजविराज, ०२ कार्तिक । सप्तरीमा निर्माणाधीन अधुरो सडकहरुलाई एक महिना भित्र पूर्णता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले निर्देशन दिएकी छिन् । सप्तरी सदरमुकाम राजबिराज स्थित उद्योग वाणिज्य संघको सभाहलमा मंगलबार सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएकी हुन् । भौतिक पूर्वधार बिकासमा सप्तरी जिल्ला निकै उपेक्षामा परेको चर्चा गर्दै मन्त्री यादवले हाल हुँदै गरेको स्वास्थ्य, शिक्षा तथा सडकहरूको स्तरोन्नतिको कार्यहरू जसपा अध्यक्ष उपेन्द्र यादवको देन रहेको उल्लेख गर्दै जसपा अध्यक्ष यादवको भावनामा ठेस नपुग्ने गरी समयमै काम गर्न निर्देशन दिएकी हुन् । सोही कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री नबल किशोर साह रामबाबुले सप्तरीको अधिकाँश सडकहरुको अवस्था जर्जर रहेको अवस्थामा पनि क्षेत्र नं. १ का अधिकाँश सडकहरुले गर्दा सर्वसाधारण अतिनै समस्यामा रहेको बताए । अन्तरक्रिया कार्यक्रममा पूर्व उप–प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जसपाका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवल किशोर साह, केन्द्रिय सदस्य एवम् प्रदेश नम्बर २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, जसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र २ ख बाट निर्वाचित प्रदेश सभा सदस्य मनिष सुमनले मन्तव्य व्यक्त गर्दै सडक निर्माणको कार्यमा ढिलासुस्ती गर्नु नहुने बताए । कार्यक्रममा सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख राम कुमार देव, हुलाकी सडक परियोजना ईटहरीका प्रमुख बिजय थापा, सडक सुधार तथा बिकास आयोजना बर्दिबासका प्रमुख सुनिल रंजितकार, सप्तरीका बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, जनप्रतिनिधिहरु, निर्माण कम्पनीका प्रतिनिधिहरु र जसपाका बिभिन्न तहका नेताकार्यकर्ताहरुको उपस्थित रहेको जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य अशोक कुमार यादवले जानकारी दिए ।