अशोक झा राजविराज, ३१ असोज । सप्तरी सदरमुकाम राजविराज स्थित मालपोत कार्यालयको प्रदेश नम्बर २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले आइतबार निरीक्षण गरेका छन् । मन्त्री साहले राजबिराजस्थित मालपोत कार्यालयमा गएर त्यहाँको समस्या तथा पूर्वधारको अवस्थाबारे जानकारी लिँदै कार्यालयमा आएका सेवाग्राहीसँग सिधै समस्या र समाधानवारे कुराकानी समेत गरेका हुन् । मन्त्री साहले मालपोत कार्यालयको बिभिन्न शाखाको निरीक्षण गर्दै समस्याबारे जानकारी लिए । मालपोत कार्यालयको निरीक्षण गर्दै मन्त्री साहले मालपोत कार्यालयमा भएको समस्या तथा भौतिक पूर्वाधार विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री साहले कार्यालयद्वारा कार्यसम्पादनमा गरेको ढिलासुस्तीले सेवाग्राहीलाई परेको मार्काबारे चासो राख्दै सर्वसाधारणको पहुँच हुने गरि सेवा प्रबाह गर्न कर्मचारीहरुलाई निर्देशन दिए । सेवाग्राहीहरुद्वारा उठाएका समस्यालाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेश सरकारले जनताको समस्यालाई प्राथमिकताको साथ सामाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री साहलाई मालपोत कार्यालय राजबिराजका निमित्त प्रमुख प्रकाश राउतले कार्यालयको जनशक्ति तथा पूर्वधारको समस्याबारे जानकारी गराएका थिए ।