अशोक झा
राजविराज, १३ असोज ।
महिलाको ठोर व्रत जितिया बुधवार विधिवत रुपमा सम्पन्न भएको छ ।
मिथिला क्षेत्रमा प्रसिद्ध रहेका जितिया बुधवार अर्थात नवमी तिथीको सम्पन्न भएको हो ।
यस वर्ष मिथिलानिहरु सोमवार देखि लगातार ३६ को निराहार उपवास बसी बुधवार ५ बजेर १७ मिनेटमा विधिवत रुपमा पूजापाठ गरी सम्पन्न गरेका छन् । सोमवार अर्थात पर्वको पहिलो दिन ‘नहाए, खाए’ (नुहाएर खानु) विधिबाट पर्व सुरु भएको थियोे । ब्रतालु महिलाहरुले नजिकको नदी, पोखरी तथा जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल र सिन्दुर सहित भगवान जिमुतवाहनको पुजा गर्दै पर्वको शुभारम्भ गरेका थिइन् ।
सोही दिन जिमुतवाहनको पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन अनुसार “माछ मडुवा” समेत सेवन गरेका थिइन ।
यसबैबीच सप्तरीको कंचनरुपमा बुधवार जितिया महोत्सव सम्पन्न भएको छ ।
कंचनरुप नगरपालिका वडा नं. ७ वलुवामा सांस्कृतिक समुहद्वारा जितिया महोत्सवको आयोजना गरेका थिए ।
महोत्सवमा प्रमुख अतिथीको आसन्नबाट सामाजिक विकास मन्त्री नवलकिशोर साहले जितिया पर्वको महत्ववारे चर्चा गर्दै मिथिलाक्षेत्रमा जितियाको निकै प्रभाव रहेको बताए ।
कार्यक्रममा जसपा केन्द्रीय सदस्य कल्पना चौधरी, कंचनरुप नगरपालिकाका नगर प्रमुख वसन्त कुमार मिश्र, उपप्रमुख निरु पोखरेल, जसपा कंचनरुपका सचिव चितरन्जन यादव लगायतको सहभागीता रहेको थियोे भने कार्यक्रममा स्थानीय कलाकारहरुले जितियासम्वन्धी विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए।