अशोक झा
राजविराज, ०९ असोज । फर्माशिष्टहरुको व्यवस्थापन नभएको प्रति सामाजिक विकास मन्त्री नबल किशोर साहले चिन्ता व्यक्त गरेका छन् ।
विश्व फर्माशिष्ट दिवसको अवसरमा राजविराजमा शनिवार आयोजित कार्यक्रममा मन्त्री साहले यस्तो चिन्ता व्यक्त गरेका हुन्
योग्यता अनुसार रोजगारी दिन प्रदेश सरकार तैयार रहे पनि अहिलेसम्म उचित सम्मान र व्यवस्थापन गर्नबाट प्रदेश तथा संघीय सरकार चुकेको स्वीकार्दै आफुले आगामी कार्तिक भित्रमा प्रदेशका ८ जिल्लामा रिक्त रहेको फर्माशिष्टहरुको विवरण लिएर भर्ना प्रक्रिया अघि बढाउने उनले बताए । प्रदेश सरकार फर्माशिष्टहरुलाई उचित सम्मानका साथै व्यवस्थापन गर्न अग्रसर रहेको भन्दै चिकित्सकको सल्लाह बिना जथाभावी ढंगले औषधी बिक्री वितरण नगर्न फर्माशिष्टहरुलाई मन्त्री साहले आग्रह गरे ।
उमेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रोहित पोख्रेलले आफु सबै थोक छाडेर प्रतिष्ठान स्थापनाका लागि प्रयासरत रहको भन्दै कुनै पनि हालतमा प्रतिष्ठान स्थापना गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । सोही कार्यक्रममा सप्तरीका प्रजिअ जर्नादन गौत्तम, औषधी व्यवसायी संघका अध्यक्ष मनोहर सिंह, छिन्नमस्ता अस्पतालका अध्यक्ष शैलेन्द्र मोहन झा, गजेन्द्र नारायण सिंह अस्पतालका पूर्व मेसु. डा. रंजित झा, फर्माशिष्टहरु टुनटुन यादव र दिनेश यादव सहितकाले मन्तव्य दिएका थिए ।
“जहाँ औषधी त्यहाँ फर्माशिष्ट” नारा सहित जिल्ला फर्माशिष्ट संघ सप्तरीको आयोजनामा सम्पन्न कार्यक्रममा फर्माशिष्ट क्षेत्रमा अतुलनीय योगदान दिएका सप्तरीका स्व. राजन साफी, स्व. रमेश प्रसाद साह, स्व. महेन्द्र प्रसाद साह र चाँदसी फार्मेसीका संचालक परिवारलाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।