अशोक झा राजविराज, ०४ असोज । सप्तरीको राजविराजमा छिट्टै चौतर्फी विकास हुने प्रदेश २का अर्थमन्त्री शैलेन्द्र साहले बताएका छन् । राजविराज स्थित सप्तरी उद्योग वाणिज्य संघको भवनमा निर्मित छिन्नमस्ता सभा कक्षको उद्घाटन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् । सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै अर्थमन्त्री साहले प्रदेश नं. २ मा वीरगंज र जनकपुरलाई स्मार्ट शहर बनाउने योजना प्रदेश सरकारको रहेको थियो । आफु अर्थमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै राजविराजलाई समेत स्मार्ट शहर बनाउने प्रस्ताव राखि बजेट विनियोजन गरेको अर्थमन्त्री साहले दाबी गरे । आफ्नो पहलमा राजविराजका सुन्दर शहर बनाउन १० करोड रुपैयाँ विनियोजन भएको र त्यो रुपैयाँ छिट्टै नै राजविराज नगरपालिकालाई उपलब्ध गराउने मन्त्री साहले भने । सप्तरीका दर्जनौं व्यापारीहरुको आर्थिक सहयोगमा निर्मित सभा कक्ष उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु यादव, डाक्नेश्वरी गाउँपालिकाका अध्यक्ष शिवनारायण साह, नागरिक समाजका थानसिंह भन्साली, वाणिज्य संघका पूर्व अध्यक्ष मनोज मुन्धडा सहितकाले आ–आफ्ना विचार राखेका थिए ।