अशोक झा
राजविराज, १३ भदौं ।
सप्तरीमा बुधवारदेखि सम्पूर्ण निजी विद्यालयहरु विद्यार्थीको भौतिक उपस्थितिमा संचालन हुने भएको छ ।
राजविराज स्थित प्याब्सन सप्तरीको कार्यालयमा आइतवार बसेको नेपाल प्याब्सन, नेशनल प्याब्सन तथा प्याब्सन सप्तरीको एक बैठकबाट भौतिक रुपमा विद्यार्थीहरुको उपस्थिति गराएर कक्षा संचालन गर्ने निर्णय गरेको हो ।
तिनवटै संगठनले एक संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशमा कोरोनाको दर ५ प्रतिशत भन्दा कम र सप्तरीमा शुन्यमा रहेको अवस्थामा विद्यालय संचालनमा कुनै कठिनाई नहुने भन्दै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक तथा सामाजिक विकासलाई ध्यानमा राखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय संचालन बाहेकको विकल्प नरहेको बताए ।
विद्यालय संचालनका लागि कोरोना विरुद्धको प्रोटोकल पालना गरी मास्क, सामाजिक दुरी एवं सेनिटाइजेशन लगायतमा कडाई गरी बिहान र दिउँसो गरी दुई सिप्टमा विद्यालय संचालन हुने विज्ञप्तिमा भनिएको छ ।
राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु यादवलाई सम्पर्क गर्दा उनले भने– “नगरका सामुदायिक विद्यालयहरु समेत संचालनमा आउने छ । आइतवार मात्र जिल्लाका १८ वटै पालिकाका प्रमुखहरुको डाकिएको बैठक केही कारणबस हुन सकेन मंगलवार वा बुधवार पुनः बैठक गरी विद्यालय संचालनको प्रक्रिया अगाडी बढाइने छ ।”