अशोक झा,
राजविराज, १२ असार ।
प्रधानमन्त्री केपी शर्मा ओली लगायतले गरेको प्रतिगमनको विरुद्धमा आफु लडी रहने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताललाई शनिवार स्वास्थ्यसामग्री हस्तान्तरण पश्चात पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
प्रतिगमनकारीको हार निश्चित रहेको भन्दै अध्यक्ष यादवले प्रतिनिधिसभा पुनरस्थापना तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाको नेतृत्वमा नव सरकार गठन हुने ठाकुर समेत उनले गरे ।
जसपामा रहेका तत्कालिन राजपा नेपालका नेताहरुले आफ्नो स्वार्थ प्राप्तिको लागि मात्रै ओली नेतृत्वको सरकारमा गएको टिप्पणी गर्दै ओलीले नागरिक्ता लगायत अन्य समस्या समाधान गरेको कुरा भ्रामक मात्रै रहेको अध्यक्ष यादबले बताए । ‘कसैको मुद्दा फिर्ता भएको छैन, कुनै माग पूरा भएको छैन’ ‘केपी ओलीले त मधेशको माग सुन्नै नचाहेको उनले स्पष्ट पारे ।
नागरिकताको विषयमा प्रधानमन्त्री ओलीले ठूलो खेल खलेको यादवले आरोप लगाउँदै संसदमा टेबुल भइसकेको नागरिकता विधेयकलाई संसदभित्रै पारित नगराई अध्यादेश बाट ल्याइएको छ भने अर्को तिर आफ्नै मान्छे लगाएर खारेज गर्न लगाएको अध्यक्ष यादबले बताए ।
यसअघि स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री नबल किशोर साह “रामबाबु”ले आफु सदैब प्रतिगमनको विरुद्धमा रहेको भन्दै प्रतिगमनकारीलाई परास्त गर्न जति संघर्ष गर्नु परे आफु तयार रहेको बताए ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल संघीय सरकारको मातहतमा रहे पनि प्रदेश सरकारको तर्फबाट भरपुर सहयोग गरी रहेको खुलासा गरे ।
सोही कार्यक्रममा भुमि व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्र साहले प्रदेश सरकार आफ्ना जनताको जनधनको रक्षा गर्न कुनै कसेर बाँकी नराख्ने बताए । कोरोना महामारीको दोस्रो चरणमा भएको कमीकमजोरीलाई आत्मसात गर्दै संभावित तेस्रो चरणको महामारीको लागि तयार रहन सबै पक्षमा आग्रह गरे ।
कार्यक्रममा पूर्व शिक्षा मन्त्री श्रीमती रेणु यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, नेता भिमराज यादव, गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रंजित कुमार झा लगायत जसपा नेपालका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।