अशोक झा, राजविराज, १९ जेठ । सप्तरीमा बुधवार थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीका तथ्याङ्क अनुसार बुधवार कंचनरुप नगरपालिका वडा नं. ५ बस्ने ३८ वर्षिय सुकदेव चौधरीको कोरोना संक्रमणबाट विराटनगर स्थित न्यूरो अस्पतालमा मृत्यु भएको छ । सोही अस्पतालमा उपचारका लागि चौधरी बैशाख २८ गते भर्ना भएका थिए र उनलाई सोही अस्पतालमा बैशाख २९ गते कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । त्यसैगरी कंचनरुप नगरपालिका वडा नं. १८ बस्ने ६० वर्षिय भुमराज भगतको कोशी अस्पतालमा उपचारको क्रममा मंगलवार मृत्यु भएको छ । बैशाख ३१ गते सोही अस्पतालमा कोरोना संक्रमितको पुष्टि भए पश्चात भगत त्यही उपचारार्थ थिए । त्यसैगरी बोदेबर्साइन नगरपालिका वडा नं. १० खडकपुर निवासी ५४ वर्षिय अरविन्द यादवको बुधवार मृत्यु भएको छ । विराटनगर स्थित कोशी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यादवलाई जेठ १६ गते राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।