अशोक झा, राजविराज, ०९ जेठ । सप्तरीको शिक्षा क्षेत्रमा अग्रभूमिका रहेका शिक्षकहरुलाई प्राथमिक्तामा राखि कोेरोना विरुद्धको खोपको व्यवस्था गर्न नेपाल शिक्षक महासंघ सप्तरीले सरकारसँग माँग गरेको छ । महासंघका अध्यक्ष दिनेश प्रसाद यादव र सचिव लखिन्द्र प्रसाद साहले आइतवार एक विज्ञप्ति जारी गर्दै यस्तो माँग गरेका हुन् । जारी विज्ञप्तिमा देश अहिले कोरोना महामारीको दोस्रो लहरका कारण अस्तव्यस्त भएको र यस्तो भिषम महामारीका बेला सप्तरीमा दर्जनौं व्यक्तिले भाइरसको कारण ज्यान गुमाएको प्रति दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जलीको साथै उपचारमा रहेको कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना समेत गरेको छ । त्यस्तै कोरोना भाइरस विरुद्धको खोप सरकारले शिक्षक, अभिभावक तथा विद्यार्थी लगायत शिक्षा क्षेत्रमा कार्यरत कसैलाई नदिएको प्रति आश्चर्य व्यक्त गर्दै शिक्षा क्षेत्रमा संलग्न शिक्षक देखि विद्यार्थीसम्मलाई प्राथमिक्तामा राखि अबिलम्ब कोरोना विरुद्धको खोपको व्यवस्था गर्न माँग समेत विज्ञप्ति मार्फत आग्रह गरेका छन् । त्यस्तै कोरोना महामारीको समयमा विद्यार्थीहरुको अध्ययनमा भौतिक उपस्थित हुन सक्ने संभावना नरहेको र प्राविधिक सिकाईमा अधिकाँश विद्यार्थीको पहुँच नभएको हुनाले विद्यार्थीहरुको भविष्य अन्धकारमय हुन नदिन अभिभावकले स्वयं घरमै बसेर विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउन आग्रह समेत विज्ञप्तिमा गरिएको छ । त्यस्तै कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिहरुको तस्विर फेसबुक लगायत अन्य सामाजिक संजालमा राख्दा उपचारमा रहेको संक्रमितहरुको मनोबल कमजोर हुने भएकोले त्यस्ता क्रियाकलाप समाजिक संजालमा नगर्न सम्बन्धित सबैमा आग्रह समेत विज्ञप्तिमा गरिएको छ ।