अशोक झा, लहान, १७ चैत । मालपोत कार्यालय लहानमा बम विष्फोट गराउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मालपोत कार्यालयमा प्रेसर कुकर बम विष्फोट गराएको आरोपमा प्रहरीले जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ५ बस्न २५ वर्षिय राम रिझन यादव लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ३ बस्ने २६ वर्षिय अभिमन्यू गिरीलाई २ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सुखीपुर नगरपालिका वडा नं. ५ बाट पक्राउ गरेको हो । प्रहरीले मालपोत कार्यालयमा प्रेसर कुकर बम राख्न जाँदा रामरिझनले लगाएको रातो ज्याकेट, चपल र टिसर्ट, कटुवा पेस्तोल थान १ र सोमा प्रयोग हुने २ राउण्ड गोली तथा अभिमन्यूको साथबाट कटुवा पेस्तोल थान १ र सोमा प्रयोग हुने २ राउण्ड गोली बरामद गरेको छ । २०७४ चैत्र ०९ गते विकास ज्वेलर्स लहानमा भएको विष्फोटको मुद्दामा सिरहा जिल्ला अदालतबाट १ लाख, २०७५ श्रावण ३१ गते विराटनगर उपमहानगरपालिकाको कार्यालयमा बम बिष्फोट गराएको मुद्दामा मोरङ जिल्ला अदालतबाट रु. ३५ हजार रुपैयाँको धरौटीमा रामरिझन रिहा भएका थिए भने अभिमन्यू बिगत ५ बर्ष देखी तराई जन्तान्त्रिक मुक्ति मोर्चा ( गोईत समूह) मा संलग्न रहि बल पुर्वक चन्दा असुली काम गर्ने गरेको प्रहरीले बताएको छ । चैत्र १ गते पौने १ बजेको समयमा सिरहाको लहान नगरपालिका वडा नं. ८ स्थित मालपोत कार्यालयको पहिलो तल्लाको दर्ता चलानी शाखा नजिक सेवा ग्राहिहरुको आत्याधिक चाप रहेको बेला दुवैले बम विष्फोट गराएको थियो । सो विष्फोटमा ८ जना घाइते भएका थिए भने कार्यालयको सिसाहरु फुटेको तथा प्रेसर कुकरका टुक्राहरु, वारुदको गंध र तराई जन्तान्त्रिक मुक्ति मोर्चा (गोईत समूह) को प्रर्चाहरु फेला परेको थियो । प्रहरीले दिएको जानकारी अनुसार तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोईत समूह) को अध्यक्ष जय कृष्ण गोइतको निर्देशनमा सुखिपुर नगरपालिका वडा नं. ८ बस्ने आर.के. भन्ने राम कुमार यादवले उक्त प्रेसर कुकर बम फागुन २६ गते भगवानपुर गाउँपालिकाको ठाडी भन्ने स्थानमा रामरिझन र अभिमन्यूलाई दिएको थियो ।