- अशोक झा
राजविराज, १८ बैशाख । कोरोना महामारी न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतवारदेखि लागु हुने गरी निर्णयहरु गरेको छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले शनिवार एक निर्देशन जारी गर्दै कोभिड–१९ को संक्रमण बढ्दो अवस्थामा भएको हुँदा बजारमा भिडभाड यथावत देखिएको कारण भिड नियन्त्रण गर्न आइतवार (१९ गते)देखि जिल्लामा संचालन हुने अत्यावश्यक सेवाका तथा निर्माण कार्यमा प्रयोग हुने बाहेकका सबै सवारी साधान, बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकल समेतमा जोर बिजोर प्रणालीबाट संचालन गर्न गराउन निर्देशन दिएको छ ।
त्यस्तै भिडभाड हुने कार्यालय मालपोत, नापी लगायतले सेवा प्रवाह गर्दा भिडभाड नहुने व्यवस्था मिलाउन निर्देशन जारी गर्दै बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा बिक्री गर्ने खाद्यान्न, लत्ता कपडा तथा तरकारी बिक्री वितरणमा समेत रोक लगाएको छ ।
यसैगरी राजविराजबाट कुनौली तथा छिन्नमस्ता भगवती मन्दिर जाने अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सवारी साधनमा रोक लगाउने निर्णय समेत गरेको बताएको छ ।