अशोक झा,
राजविराज, १२ बैशाख ।
सप्तरीको डिमनमा रहेको श्री माध्यमिक विद्यालयको अवस्था प्रधानाध्यापकका लापर्वाहीले गर्दा लथालिङ्ग रहेको छ ।
सप्तरीको तिरहुत गाउँपालिका ४ स्थित रहेको सो माध्यमिक विद्यालयको पठनपाठन, शिक्षकशिक्षिका उपस्थिती विद्यालयको प्रशासनिक निकाय, छात्रछात्राहरुको खाजा व्यवस्थामा ठूलो लापर्वाही भईरहेको छ ।
विद्यालयको अवस्था दयनीय रहेको सम्बन्धमा विद्यालयका प्रधानाध्यापक कपिलेश्वर यादवसँग ईमधेश न्यूजका प्रतिनिधि अशोक झाले प्रश्न गर्दा उनी विभिन्न बहाना मात्रै बनाएका थिए । प्रअ यादवलाई विद्यालयको विद्यार्थीको जम्मा सख्या कति रहेको जिज्ञासा राख्दा उनले आफुलाई थाहा नभएको बताए पनि करिब ८ सयको हाराहारीमा रहेको गैर जिम्मेवाराना जवाफ दिए ।
स्थानीय व्यक्तिको चरम गुनासो पश्चात स्थलगत निरिक्षण गर्दा विद्यालयमा उपस्थित रहेका शिक्षकहरुले हाजिरी रजिष्टरमा हस्ताक्षर नगर्ने गरेको पाइयो भने अनुपस्थित शिक्षकको हाजिरीमा हस्ताक्षर किन रहेको जिज्ञासामा प्रअ यादवले आफुलाई यस सम्बन्धमा केही जानकारी नरहेको र सहायक प्रअ विरेन्द्र प्रसाद यादवको सम्पूर्ण जिम्मेवारी रहेको बताए । तर, सहायक प्रअ बिरेन्द्रले आफुलाई लिखित तथा मौखिक रुपमा कुनै जिम्मेवारी नरहेको कारण आफु आफ्नो अध्यापनमा मात्रै ध्यान दिएको बताए । बिना लिखितको जिम्मेवारीले कुनै शिक्षक तथा कर्मचारीलाई केही निर्देशन दिए पनि उसले उल्टै हप्काएर बोल्ने गरेको कारण आफु कुनै निर्देशन नदिन चाहेको बताए ।
गाउँभन्दा बाहिर विद्यालय रहेको कारण विद्यालयका शौचालय समेत व्यवस्थित नरहेको र शौचालयका “प्यान” भाँचेको, दुर्गन्धित रहेको, कक्षा कोठामा सरसफाई नभएको प्रति जिज्ञासा राख्दा प्रअ यादवले स्थानीय सरकारलाई नै दोष दिएका छन् । प्रअ यादवले भने–“हाम्रा विद्यालयमा दुई जना कार्यालय सहयोगी छन् । प्रत्येकलाई ४ हजारदेखि ४ हजार ५ सय रुपैयाँ मासिक तलब दिने गरेको छ । त्यो तलबमा उनीहरुलाई काम गर्न आनाकानी गरी रहेको कारण आफुले कार्यालय सहयोगीलाई कुनै कामको लागि निर्देशन दिन असक्षम छु ।”
कक्षा कोठामा विद्यार्थीहरु उपस्थित भए पनि शुक्रवार कक्षा ११ मा एउटा मात्रै शिक्षक आएको कारण विद्यार्थीहरुले समेत अशोक झालाई आफ्ना गुनासो पोखे । विद्यार्थीहरुको गुनासो अनुसार प्रअ यादवलाई जिज्ञासा राख्दा उनले भने– “ हुन त वास्तवमा आज शुक्रवार रहेकोले कम्तीमा जम्मा ४ वटा घन्टी हुनु पर्ने हो तर कक्षा ११ मा एउटा मात्रै शिक्षक उपस्थित रहेको उनले स्वीकारे ।” कक्षा ११ का छात्रा अनिषा (परिवर्तित नाम)ले नाम नछाप्ने शर्तमा भनिन्– “विद्यालयमा विद्यार्थीको पठनपाठन देखि लिएर हरेक क्षेत्रमा लापरबाही मात्रै भई रहेको छ । शिक्षकहरु विद्यालयमा उपस्थित भए पनि गपगापमा मात्रै समय खर्चेर हाजिरी मात्रै बनाउने गरेको र विद्यार्थीहरु समयमा विद्यालयमा आए पनि त्यतिकै फर्केर घर जाने गरेको उनले दुखेसो पोखिन् । त्यस्तै अर्को छात्र–छात्राहरुले समेत सोही अनुसारको समस्या बताएका छन् ।
त्यस्तै संघीय सरकारले कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको लागि उपलब्ध गराएको खाजामा समेत लापरबाही भएको देखिएको छ । विद्यार्थीहरुको लागि उपलब्ध हुने खाजा हप्तामा १ या २ दिन मात्रै दिने गरेको छ । त्यसमा पनि कुनै दिन विस्कुट त कुनै दिन चाउचाउ । यस सम्बन्धमा खाजा व्यवस्थापन समितिका अध्यक्ष तथा सोही विद्यालयका शिक्षक अमोद कुमार यादवलाई जिज्ञासा राख्दा उनले भने– “खाजाको मापदण्डको लागि बारम्बार प्रअसँग जानकारी माँग्दा उनले कुनै जानकारी दिएको छैन । आफु बिना जानकारीको नै विद्यार्थीहरुलाई आफ्नो सुविधा अनुसारको खाजाको व्यवस्था गर्दै आएको बताए । तर, शिक्षक तथा प्रधानाध्यापककै सामुन्नेमा कलिला उमेरका सोही विद्यालयका बालबालिकाले आफुलाई खाजा नदिने गरेको बताए ।
तिरहुत गाउँपालिकाका शिक्षा संयोजक समेत रहेको प्रअ यादवलाई आफ्नो विद्यालयको विद्यार्थी संख्या पनि थाहा नरहेकोले यस्तो प्रअले विद्यालय तथा विद्यार्थीको भविष्य कस्तो गर्ने हो कसैलाई थाहा नभएको स्थानीय अमरेश कुमार यादवले बताए ।
यस सम्बन्धमा सोही वडाका अध्यक्ष मनोज कुमार यादवलाई सम्पर्क गर्दा अध्यक्ष यादवले मावि डिमनको विकासको लागि बारम्बार प्रयास गरे पनि प्रअको एकलौटी हठ र निर्णयले आफुहरु पनि असक्षम रहेको बताए । प्रअ यादवले विद्यालय तथा विद्याथीको स्तरोन्नीतको लागि आफुसँग कुनै सल्लाह नगरेको कारण आफुलाई विद्यालयको सम्बन्धमा केही जानकारी नरहेको बताए ।