ईमधेश न्युज सम्वाददाता,
विराटनगर, ०९ बैशाख । मोरङ्गमा आफैंले बोकेको बन्दुक पडकेर एकजनाको मृत्यु भएको छ ।
वन्यजन्तुको सिकार खेल्ने क्रममा मोरङको केराबारीमा भरुवा बन्दुक पड्किएर केराबारी गाउँपालिका वडा नं. ३ का ३२ वर्षीय हस्त राईको मृत्यु भएको छ ।
हस्त गाउँकै साथीहरु गजेन्द्र राई र रुविन लिम्बूसँग रातको समयमा सिकार खेल्न स्थानीय बाघदले जंगलमा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृग र बंदेलको सिकार गर्ने क्रममा बन्दुक पड्किएर साथीको मृत्यु भएको भन्दै गजेन्द्र र रुविन आफै इलाका प्रहरी कार्यालय केराबारीमा पुगेपछि घटना बाहिर आएको हो ।
दुवैजनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीहरुले हस्त आफैले बोकेको बन्दुक पड्किएर घटना भएको प्रहरीलाई बताएका छन् । प्रहरीले घटनास्थलबाट एक नाल भरुवा बन्दुक पनि बरामद गरेको छ । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।