अशोक झा,
राजविराज, ०९ बैशाख ।
सप्तरी सदरमुकाम राजविराज सहित जिल्लाका अन्य भागमा बिहीवार आएको हावाहुरी तथा मेघगर्जन सहित वर्षाले व्यापक क्षति पु¥याएको छ ।
हावाहुरी तथा मेघगर्जन सहित भएको भारी वर्षाले किसानहरुले लगाएको तरकारी बाली पूर्णरुपमा नष्ट भएको छ भने किसानले खेतबाट काटेर ल्याएको गहुँबाली समेत नष्ट भएको छ ।
राजविराज नगरपालिका वडा नं. १ का किसान सोमन यादवका अनुसार हावाहुरी तथा भारी वर्षाको कारण खेतमा लगाएको टमाटर, करैला, भान्टा, लोका, फर्सी सहितका तरकारी नष्ट भएको छ भने खुर्सानीको बोटमा व्यापक क्षति भएको देखिन्छ ।
त्यस्तै हावाहुरीको कारण ठाउँठाउँमा रुख तथा घरको छाना उडाइएको छ। राजविराज नगरपालिका वडा नं. २ राजदेवी चौकका केही पसलका टिनको छाना उडाएको छ भने विसडम विद्यालयका छाना समेत उडाएको छ । विद्यालय संचालन भई रहेकै बेला आएको हावाहुरीले छाना उडाए पनि विद्यार्थीहरु सकुशल रहेको स्थानीयहरु बताउँछन् ।