भदौ-७, राजविराज ।
हनुमाननगर कंकालिनी नगरपालिकाले आजैको मितिबाट कार्यालयका सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेस साहले आज एक विज्ञप्ति जारी गर्दै आइतवार अर्थात भदौं ७ गतेदेखि भदौं १५ गतेसम्मका लागि सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरेको बताएका छन् । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड –१९ रोग अहिले हनुमाननगर कंकालिनी नगरपालिको विभिन्न वडाहरुको समुदाय स्तरमा फैलिएको हुनाले नियन्न्त्रणका लागि बन्द गर्ने निर्णय गरेको बताइएको छ । बन्द अवधीमा कार्यालय मातहतका स्वास्थ्य सेवा तथा अग्नि नियन्त्रण (दमकल) बाहेकका सम्पूर्ण कामकाज बन्द रहने छ । साथै बन्द अवधीमा घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दै अत्यावश्यक खण्डमा घरबाहिर आएमा अनिवार्य रुपमा रुपमा मास्कको प्रयोग, सामाजिक दुरी, क्षण–क्षणमा साबुन पानीले मिचि–मिचि हात धुने तथा सेनिटाइजरको प्रयोग गर्न समेत विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।