भूपदेव माली,
राजविराज, १२ फाल्गुन ।
प्रधानमंत्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरिएको मुद्दालाई बदर गरेको सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै जनता समाजवादी पार्टी सप्तरीले बुधवार राजविराजमा भव्य विजय जुलुस निकालेको छ ।
सर्वोच्च अदालतले मंगलवार दिउँसो प्रतिनिधि सभा विघटनलाई खारेजको ऐतिहासिक फैसला गर्दै अगामी १३ दिन भित्र प्रतिनिधिसभाको बैठक बोलाउन समेत निर्देशन दिएकोलाई लोकतन्त्रको जित भएको भन्दै जसपा सप्तरीले विजय जुलुस निकालेको हो ।
राजविराज स्थित हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणबाट निकालिएको विजय जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै सहिद दशन चौकमा गएर कोणसभामा परिणत भएका थिए ।
कोणसभालाई राष्ट्रिय सभा सांसद मृगेन्द्र कुमार सिंह यादव, रेणु यादव, प्रदेश सभा सांसद मनिष सुमन सहितका नेता तथा कार्यकर्ताहरुले सम्बोधन गरेका थिए ।
ओली नेतृत्वको मन्त्री परिषद्ले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पारित गरेपछि देशभरि जसपा सहित अन्य राजनीतिक दलहरु आन्दोलनमा उत्रेका थिए ।
यसैबीच बुद्धिजीवी पेशाकर्मी आन्दोलन संयोजन समितिले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै खुशी प्रकट गरेको छ ।
समितिका संयोजक अनिल कुमार अनलले बुधवार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको निर्णयले लोकतन्त्रको जितको भएको बताएका छन् ।