लिलाकान्त यादव,
राजविराज, १६ पुस ।
सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा रहेका जवर्जदस्ती करणी आरोपितलाई कैद सजाय तोकेको छ ।
थुनामा रहेका सप्तरीको रुपनी गापा ६ विरेन्द्र बाजारका २० बर्षिय बेद प्रकाश मण्डल(मुन्ना) लाई जिल्ला न्याधिश इश्वर मणि ओझाको इजलासले सात वर्ष कैद सजाय तोकेको हो ।
जिल्ला अदालतको आदेशमा ०७६ असार १ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा रहेका अभियुक्तलाई अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
कक्षा ११ को परीक्षा दिन आफन्तको घरमा बसेकी १६ वर्षिया बालिकालाई उनका केटा साथीले बोलाएर रुपनी गाउँपालिका वडा नं. ६ स्थित परीक्षा केन्द्र रहेको जनचेतना उच्च मावि, तेरहौता गएका बेला आरोपितहरुले उनको केटा साथीलाई कुटपिट गर्दै ०७६ जेठ ४ गते सामूहिक बलात्कार गरेका थिए ।
प्रहरीले आरोपितमध्ये मण्डललाई ०७६ जेठ ५ गते पक्राउ गरेपछि मण्डलले दिएको बयानका आधारमा रुपनी गाउँपालिका वडा नं. ६ बिरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंग, २८ वर्षीय आनन्द सरदार, ओमप्रकाश मण्डल, २५ वर्षीय देबनारायण मण्डल, २० वर्षीय पुकपुक भनिने सुमित मण्डल र बिद्यानन्द सरदारविरुद्ध सामुहिक बलात्कारको उजुरी दर्ता गरेको थियो ।