अशोक झा.. राजविराज, १५ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ कंचनपुरमा निर्माण हुने १५ शैय्याको सरकारी अस्पतालको शिलान्यास गरिएको छ । संघीय सरकारको हरेक पालिकामा कम्तिमा १५ शैय्याको सरकारी अस्पताल निमार्ण गर्ने नीति अनुसार बन्न लागेको प्राथमिक अस्पतालको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले शिलान्यास गरेका छन् । २०५३ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तररोन्नती गरी प्राथमिक अस्पताल बनाउन लागिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख मिश्रले गुणस्तरीय अस्पताल निर्माणका लागि नगरपालिका लागि पर्ने बताए। उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गरेकै कारण आज हामीले सरकारी अस्पतालको शिलान्यास गर्न पाएको बताए। जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले संविधानमा प्रत्येक स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा लेखेर जुन अगाडि बढाइएको थियो र आज शिलान्यास भएसँगै संविधान कार्यान्वयनमा आएकोमा खुशी व्यक्त गरे। हामीले राम्रो काम गर्यौ भने कसैलाई पनि गुहार गर्नु नपर्ने यादवले बताए ।
१५ शैय्याको अस्पताल आधारभूत अस्पताल मात्र नभएको र अबको दिनमा अर्थ मन्त्रालयले एकैचोटी आइसियु , भेन्टिलेटरसहितको उपकरणहरु खरिद गर्नका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट समेत निकासा गरिसकेको यादवले जानकारी गराए । उपप्रमुख निरु पोखरेलले १५ शैय्याको प्राथमिक अस्पतालबाट यस नगरपालिकाले मात्र नभई वरपरका पालिकाले समेत लाभ लिन सक्ने र यहाँका जनताले यस अस्पतालबाट सम्पूर्ण सेवाहरु पाने कुरा बताए । कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, राजनितिक दलका प्रतिनिधि , स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, वडा अध्यक्षहरु, बहुक्षेत्रीय पोषण कार्यक्रमकी स्वयमसेवीका सुशीला चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए । संघीय सरकारले अस्पताल निर्माणका लागि चालु आर्थिक वर्षमा ३ करोड २३ लाख तीन हजार बजेट विनियोजन गरेको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी गराए । स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवके स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने नगर प्रवक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहको अध्यक्षतामा कार्यक्रम शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो ।