अशोक झा… मंसिर १५ गते । सप्तरीबाट विरामी सहित विराटनगर जाँदै गरेको एउटा एम्बुलेन्स लहरीमा ठोकिँदा १ जनाको मृत्यु भएको छ । सप्तरीबाट विरामी सहित विराटनगर पुगेका एम्बुलेन्स भारतीय नम्बर प्लेटको लहरीमा ठोक्किएर भएको दुर्घटनामा सोमबार बिहान एक जनाको मृत्यु भएको हो। स १ च ११२२ नम्बरको एम्बुलेन्स बिहान १ बजेतिर एनएल ०१ एल ०३३६ नम्बरको लहरीमा ठोक्किएर दुर्घटनामा परेको छ। बिग्रिएपछि कोसी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका वडा नं. ४ कञ्चनबारीस्थित सडकमा रोकेर राखेको लहरीमा तीव्र गतिमा रहेको एम्बुलेन्स पछाडिबाट ठोक्किएको बताइएको छ। दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी वडा नं. २ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो। प्रहरीका अनुसार मृतक मण्डल दमका पुराना रोगी रहेको खुलेको छ। एक्कासि दमले च्यापेपछि बीपी आइडोलोजी सोसाइटी राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालतर्फ जाँदा गर्दा विरामीको दुर्घटनामा परेर मृत्यु भएको छ । दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन्। सामान्य अवस्थाका उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ। प्रहरीका अनुसार एम्बुलेन्स चालक हरिनारायण यादव फरार रहेका कारण खोजी तीव्र पारिएको छ। प्रहरीले बिग्रिएको भन्दै सडकमा रोकेर राखेको भारतीय लहरीका चालकको पनि खोजी थालेको छ। दुर्घटनामा परेर एम्बुलेन्समा पूर्ण रुपमा क्षति भएको छ।