अशोक झा…
राजविराज, १७ भदौं । सप्तरीमा बुधवार १६ जना कोरोना संक्रमित थपिएको छ ।
जिल्लाको कंचनरुप नगरपालिकामा एकै परिवारका ६ जना सहित १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
कंचनरुप नगरपालिका वडा नं. ६ का एक महिला सहित सात जना र वडा नं. ७ का १ महिला सहित तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
यस्तै तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ का पाँच तथा राजविराज नगरपालिका ४ का एक जनामा समेत कोरोना संक्रमण देखिएको छ ।
निमित्त प्रमुख यादवका अनुसार ती सबैको गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण देखिएको र उनीहरुलाई आइसोलेशन कक्षमा ल्याउने तयारी भई रहेको छ ।
योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ८ सय २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यो सहित संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार नयाँ संक्रमितमा ३ सय २० महिला र ८ सय पुरुष छन्।
यस्तै मन्त्रालयका अनुसार १० हजार ४ सय ९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६ सय १५ छन्। क्वारेन्टाइनमा ६ हजार ७ सय ६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ छ।
पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ। नेपालमा कोरोनाबाट २ सय ५१ जनाको मृत्यु भएको छ।