अशोक झा राजविराज, ०७ मंसिर । सप्तरी सदरमुकाम राजविराजमा कोरोना संक्रमणबाट शनिवार राति एकजना पुरुषको मृत्यु भएको छ । राजविराज नगरपालिका वडा नं. २ राजदेवी टोल निवासी नेपाल स्वास्थ्यकर्मी युनियनका सहसचिव ५२ वर्षीय जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको नोबेल अस्पताल बिराटनगरमा कोरोना संक्रमणले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखामा शाखा प्रमुखका रुपमा कार्यरत स्वास्थ्यकर्मी देव कोरोना संक्रमणले विराटनगरमा उपचाररत देवको १० दिन अघि कोरोना रिपोर्ट नेगेटिभ आएको परिवारका सदस्यले बताएका छन्। रिपोर्ट नेगेटिभ आएपनि कोरोनाकै कम्प्लिकेशनले गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । कोरोनाले फोक्सो र किडनीमा असर गरी कमजोर बनाएको तथा सो महत्वपूर्ण अंगले राम्रोसँग काम गर्न नपाएकाले देवको रिपोर्ट नेगेटिभ आएपनि सोही जटिलताका कारण उनको मृत्यु भएको हो। रिपोर्ट नेगेटिभ आएपछि आइसियुमा सारिएका देवको स्वास्थ्य अवस्थामा जटिलता आएपछि पुनः भेण्टिलेटरमा उपचारकै क्रममा मृत्यु भएको हो। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या सप्तरीमा ३६ जना पुगेको हो। रिपोर्ट नेगटिभ आएकाले शव घरमा ल्याइ नेपाली सेनाले नै कोशी व्यारेजमा शव व्यवस्थापन गरेको पारिवारिक स्रोतले जनाएको छ ।