अशोक झा
राजविराज, १५ कार्तिक । सप्तरीको राजविराजमा प्रहरीले शनिबार ८८ हजार ७ सय ५० मुल्य बराबरको पटाका बरामद गरेको छ ।
प्रहरीको टोलीले राजविराज नगरपालिका वडा नं. ७ हटियामा रहेको सीतादेवी दासको पसल र गोदाममा छापा मार्दा सो रकम बराबरको पटाका पक्राउ गरेको हो ।
प्रहरीले दासको पसल र गोदामबाट नागिन, बुलेट, चकलेट बम लगायत बरामद गरेको र सोको अनुमानित मुल्य ८८ हजार ७ सय ५० रुँपैया पर्ने जानकारी दिएको छ ।
दिपावली र छठ पर्वका लागि यहाँ विभिन्न नाकाबाट लुकिछिपी पटाका भित्राउने तथा बजारमा बिक्रि बितरण गर्ने कार्य भइरहेको सूचनापछि पटाका नियन्त्रणका लागि नाका क्षेत्र र बजारमा निगरानी कडा पारिएको सूचना अधिकारी डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
उनले राज्यले प्रतिबन्धित गरेको पटाका नभित्राउन र यसको प्रयोग नगर्न समाजका सबै वर्ग समुदायमा आग्रह गर्दै भने, “पटाकाको सानो झिल्कोले व्यक्ति, परिवार र समाजलाई ठूलो क्षति पुर्याउने गरेकोले यसबाट टाढा रहनु नै बुद्धिमानी हुने छ ।”