अशोक झा…
राजविराज, १३ कार्तिक । पूर्वंमन्त्री डम्बर नारायण यादवको १३ औं दिनको पुण्य तिथीमा श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव सहितका नेताहरुले श्रद्धाञ्जली दिएका छन् । सप्तरीको महादेबा गाउँपालिका वडा नं. ३ बथनाहा निवासी पूर्वमन्त्री यादवको श्रद्धाञ्जली सभामा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवल किशोर साह “रामबाबु”, अर्थराज्यमन्त्री उषा यादव, सांसद मृगेन्द्र कुमार सिंह यादव, प्रदेश सांसद विदेश्वर यादव “विक्की”, सांसद शेखर कुमार सिंह, जय प्रकाश ठाकुर, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिष कुमार सिंह, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव लगायतका उपस्थिति थियो । सप्तरीको महादेवा गाउँपालिका वडा नं. ३ बथनाहा निवासी पूर्वमन्त्री डा. डम्बरनारायण यादवको कार्तिक २ गतेको निधन भएको थियो । सप्तरीस्थित आफ्नो निवासमा चार दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि उनलाई विराटनगरस्थित नर्सिङ्ग होममा भर्ना गरिएको थियो। काठमाडौंमा बसोबास गर्दै आएका यादव एक महिना अघि सप्तरीस्थित घरमा बस्दै आएका थिए। ब्रेन हेम्ब्रेजका कारण उनको निधन असोज २ गते आइतबार बिहान पौने पाँच बजे भएको थियो । पूर्व मन्त्री डा. यादवको केही वर्षअघि मुटुको बाइपास सर्जरी गरिएको थियो। वि.स. २०३६ साल जेठ १८ गते जनमत संग्रह गराउने दायित्वसहित गठित प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रीमण्डलमा यादव शिक्षा राज्यमन्त्री थिए। वीर अस्पतालका चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यसँग तत्कालीन राज्यमन्त्री यादवको विवाद हुँदा यादवले पद छाडेका थिए। वि.स. २०४० साल असार २९ गते लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा स्वास्थ्य मन्त्री रहेका यादव प्रजातन्त्र आएपछि नेपाल सद्भावना पार्टीमा सक्रिय थिए। उनी मधेशी नागरिक समाजको अध्यक्षको हैसियतामा विभिन्न सामाजिक कार्यमा समेत संलग्न थिए। उनको शवलाई बथनाहास्थित पैतृक गाउँमा आइतबार साँझ दाह संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ। यादवको एक छोरा र एक छोरी छन्। यस अघि मन्त्री यादवले भारदह स्थित रोयल सेकेण्ड्री स्कुलमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका थिए । सोही कार्यक्रममा मन्त्री यादवले संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वर्तमान समयमा नेपाल र भारतबीचको सम्बन्ध सुमधुर रहेको संघीय सरकारका श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले बताए । नेपाल र भारत सदियौं देखि एक अर्काको परिपुरक रहेको हुनाले दुई देशबीच कुनै पनि मुद्दामा कटुता उत्पन्न नहुने ठोकुवा गर्दै नेपाल सरकारले भारतसँगको सम्बन्ध अझैं प्रगाढ गर्न प्रयासरत रहेको बताए । केही तत्वले प्रधानमन्त्री केपी शर्मा ओलीको वक्तव्यलाई गलत व्याख्या गरेको र भारतसँगको सम्बन्ध चिस्याइएको भ्रामक प्रचारबाजी मात्रै गरेको उनले बताए । वैश्विक महामारीका रुपमा फैलिएका कोरोना भाइरसका कारण विदेशमा फँसेका नेपालीलाई स्वदेश फिर्ताका लागि सरकारले सम्बन्धित देशसँग बातचित जारी राखेको भन्दै विदेशबाट करिब १ लाख २५ हजार नेपालीलाई स्वदेश फिर्ता ल्याएको र आउनका लागि इच्छुक रहेका करिब ७० हजारको लागि सरकारले गृह कार्य गरी रहेको बताए । । कोरोना न्यूनीकरण तथा नियन्त्रणका लागि सरकार अहिले पनि तत्परताका साथ अगाडी बढि रहेको भन्दै आर्थिक क्षमता भएका व्यक्तिहरुलाई होम आइशोलनमा बसेर उपचार गर्न आग्रह मात्रै गरेको तर आर्थिक रुपमा विपन्न भएकाको सरकार उपचार गर्न तयार रहेको बताए ।
नेकपा सप्तरी क्षेत्र नं. १ का पूर्व अध्यक्ष देवनाथ यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, राष्ट्रिय शिक्षक मंचका केन्द्रिय उपाध्यक्ष दिनेश यादव, नेकपा नेता भागवत यादव, विद्यार्थी नेता शम्भ यादव, पूर्व सभासद एवं नेकपा सप्तरीका जिल्ला संयोजक अशोक कुमार मण्डल “अमर”, सरिता गिरी यादव, सुमन ठाकुर, बोदेबर्साइन नगरपालिका वडा नं. १० वडाअध्यक्ष सुमित कुमार यादव, वडा नं. ४ का वडा अध्यक्ष अनोज कुमार यादव, नगर प्रत्यासी राहुल मण्डल, नेकपाको जिल्ला सदस्य सोभित लाल यादव, राष्ट्रिय शिक्षक मंचका केन्द्रिय सदस्य सुभाष यादव, शिक्षक नेता उमेश यादव, नेकपाका छिन्नमस्ताको मेयर प्रत्यासी जय प्रकाश यादव र नेकपाका जिल्ला सदस्य ब्रज किशोर मण्डल लगायतको उपस्थिति थियो । कार्यक्रममा प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नबल किशोर साह “रामबाबु” र मन्त्री यादवबीच प्रदेश २ मा कोरोना प्रकोपको सम्बन्धमा समेत विशेष छलफल भएको थियो । त्यस पश्चात श्रम तथा रोजगार मन्त्री यादवले जिल्लाको हनुमाननगर स्थित मन्त्री साहको घरमा गएर हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहसँग समेत भेटभाट गर्दै स्वास्थ्य सम्बन्धी जानकारी लिएका थिए ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् संविधान सभाका पूर्वसदस्य मानपुर चौधरीको श्रद्धाञ्जली सभामा पुगेर मन्त्रीद्वय यादव र साह श्रद्धाञ्जली दिएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ४ जगतपुर निवासी कोरोना संक्रमित ६० वर्षीय चौधरीको उपचारका क्रममा धरानमा मृत्यु भएको थियो । ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्याले पिरोलिएका चौधरीलाई गत कात्तिक ३ गते बिहान कोरोना संक्रमण पुष्टि भएको थियो । बिराटनगरमा उपचारपछि घर फर्केका चौधरीको स्वास्थ्यमा सुधार नभएपछि कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन दिएर राखिएका चौधरीको स्वास्थ्य समस्या वढेपछि कात्तिक २ गते राति नै धरान रेफर गरिएको थियो । जहाँ उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । उनको धरानस्थित बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो । बिहारी चौधरी र माहिल्यवती चौधरीको छोराका रुपमा २०१८ साल फागुन १० गते सप्तरीको जगतपुर ५ मा जन्मिएका चौधरीका ५ छोरा र १ छोरी छन् । चौधरीले नेकपा पुष्पलाल समूहबाट २०२६ सालमा राजनीतिमा प्रवेश गरेका थिए । एसएलसीसम्म अध्ययन गरेका चौधरी प्रजातन्त्र स्थापनापछि एमालेको सप्तरीका नेता बनेका थिए । २०५४ सालमा सप्तरी जिल्ला विकास समितिको सदस्य समेत भएका चौधरी एमालेको नेतृत्वदायी भूमिका रहेका थिए । २०६३ सालमा नेकपा एमाले, सप्तरीको जिल्ला अध्यक्ष भएर काम गरेका चौधरी २०६५ सालमा एकीकृत नेकपा माओवादीमा प्रवेश गरे । माओवादीमा उनी मिथिला राज्य समितिको सचिवालय सदस्य थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ मा एमालेको विद्रोही उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवारीका रुपमा चुनाव लडेका चौधरी ७ हजार ६ सय ३७ मत ल्याउँदै तेश्रो भएका थिए । त्यसपछि माओवादी प्रवेश गरेका चौधरीले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए ।