अशोक झा…. राजविराज, ०७ कार्तिक । प्रत्येक वर्ष झैं दशैंको बेला सप्तरीका शक्तिपीठ, धार्मिक, साँस्कृतिक र एतिहासिक महत्व बोकेको जिल्लास्थित छिन्नमस्ता, कंकालिनी, राजदेवी र भगवती लगायत आधा दर्जन शक्तिपीठमा नेपाल तथा भारतका हिन्दु धर्मावलम्बी लाखौंको हाराहारीमा श्रद्धालु आउने गरेका थिए । तर, यस पल्ट त्यस्तो रौनक र उपस्थिति देखिएको छैन् । कोरोनाको जोखीमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले गत असोज ३० गतेदेखी आगामी मंसिर ८ गतेसम्मका लागि जिल्लास्थित सबै शक्तिपीठहरुमा निषेधाज्ञा लागु गरेपछि श्रद्धालुभक्तजन आउने संख्यामा निकै कमि आएको आएको छ । दशैंमा भिडभाड लाग्ने र हजारौंको संख्यामा बलिप्रदान हुने यी शक्तिपीठहरुमा यसपल्ट बलिप्रदानमा समेत कमि आएको छ । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा विगतको तुलनामा यस पल्ट कोरोनाको जोखिम र स्थानिय प्रशासनले जारि गरेको निषेधाज्ञाका कारण ५० प्रतिशत भक्तजन र तिर्थयात्रु घटेको छिन्नमस्ता भगवती मन्दिरका मूल पुजारी एवं पीठाधिश महाकान्त ठाकुरले बताए । दशैंको बेला यो मन्दिरमा स्वदेशी तथा सीमावर्ती भारतीय क्षेत्रका धर्मावलम्बीहरुको घुँइचो लाग्ने गरेकोमा यस पल्ट त्यस्तो नदेखिएको र ५० प्रतिशतले घटेको पीठाधिश ठाकुरको भनाई छ । यस्तै दशैंको अवसरमा विभिन्न शक्तिपीठहरुमा खसी, बोका, राँगा, कुखुरा, हाँस लगायतको १५ हजार भन्दा बढी पशु बली प्रदान हुने गरेकोमा यस पल्ट शनिबारसम्ममा फाटफुट गरि १ सय ५० बली मात्र प्रदान भएको पीठाधीश ठाकुरले सुनाए । कोरोनाको जोखिमका कारण एकातिर भारतसँग जोडिएको सीमानाकाहरु लामो समयदेखी बन्द छन् भने अर्कोतिर कोरोनाको त्रास मनमा कायमै रहेकाले अधिकांश श्रद्धालु घरमै देवीदेवताको पूजाअर्चना गरि दशैं मनाइरहेकोले शक्तिपीठहरुमा विगत जस्तो भिडभाड नदेखिएको राजदेवी मन्दिर राजविराजका पुजारी भोला चौधरीले बताए ।