अशोक झा…
राजविराज, ०८ कार्तिक । नवरात्राको आठौं दिन अतार्थ अष्टमी तिथीका अनुसार शनिवार दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाइएको छ । बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिएको छ ।
स्थानीय प्रशासनले मठ मन्दिरलाई निषेधिज्ञ क्षेत्र घोषणा गरे पनि श्रद्धालुहरुले शनिवार शास्त्र सम्मत रुपमा विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिएको छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको पण्डित दुर्गानन्द झाले बताए ।
“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन, र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”, पण्डित झाको भनाई छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको पनि बताउँदै दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने पण्डित झाले बताए ।
आजका दिन सप्तरीका शक्तिपीठहरु छिन्नमस्ता भगवती, कंकालिनी भगवति, राजदेवी मन्दिर, दुर्गा मन्दिर, डाक्नेश्वरी, बंगलामुखी मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लागेको थियो । पशुबलि नचढाउनेहरुले भने पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाइ पूजाआजा गर्ने गर्दछन् ।