अशोक झा….
राजविराज, ०३ कार्तिक । सप्तरीमा सोमवार एकजना पुर्व सांसद सहित चार जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार सप्तरीका पूर्व सांसद मानपुर चौधरीलाई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा संक्रमण देखिएको छ भने राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा खडक नगरपालिकाका ३ जनामा संक्रमणको पुष्टि भएको छ ।
यो संगै जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय ९२ पुगेको छ भने १ हजार २ सय ४८ जना उपचार पश्चात घर फिर्ता गएका छन् । निमित्त प्रमुख यादवको अनुसार ४ जना महिला सहित २३ जनाको कोरोनाको कारण मृत्यु भई सकेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
४० हजार ७ सय ७८ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ८ सय ५१ जना रहेका छन् भने २६ हजार ९ सय २७ होम आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ४ सय ७० जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ७ सय ४३ नमूनाको पीसीआर परीक्षण भएको छ। सोमबार २३ सय ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९४ हजार ५ सय १ पुगेको छ।
आइसीयूमा २ य ८२ र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ७ सय ५७ जनाको मृत्यु भएको छ।