अशोक झा…
राजविराज, ०३ कार्तिक । विगतका वर्षहरुमा दशैंको बेला सप्तरीका मठमन्दिरमा हुने गरेको जमधट यसपालि हुन सकेको छैन ।
प्रत्येक वर्ष दशैं आउनु करिब दुई हप्ता अगाडीदेखि नै सप्तरीका प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती र कंकालिनी मन्दिर लगायत अन्य मन्दिरहरुमा रमझम शुरु हुन्थयो । मन्दिरहरुको रंगरोगन देखि बगैंचा सरसफाई र मेला समेत आयोजना गरिन्थ्यो तर यस वर्ष कोरोना संक्रमणको कारण स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पश्चात दशैंको रौनकता नै हराएर गएको स्थानीयहरु बताउँछन् ।
शक्तिपीठहरूमा दसैंको पूजापाठ सुरु भए पनि विगतका वर्षजस्तो हर्ष, उल्लास भने छैन। भीडभाडको डरले सर्वसाधारणलाई मन्दिर प्रवेशमा निकै कडाइ गरिएको छ। पूजाआजामा पनि विशेष सतर्कता अपनाइएको छ। मन्दिर आउने श्रद्धालुलाई मास्क अनिवार्य गरिएको छ। ढोकामा उभिएका स्वयंसेवकले सेनिटाइजर दिएर र थर्मल गनले ज्वरो नापेर मात्रै सर्वसाधारणलाई मन्दिर पस्न दिने गरेको श्रद्धालुहरुको भनाई छ ।
भीडभाड नगरी प्रथा परम्परा धान्न नित्य पूजा गर्न भने छुट गरिएको सप्तरी प्रशासनले जनाएको छ । तर, पुस्तांैदेखि चल्दै आएको प्रथा पूर्ण रूपपर्व हिन्दूहरुको महान पर्व भएको हुनाले प्रशासनको निषेधाज्ञाको रबैयाले हिन्दू धर्ममाथि नै प्रहार भएको मन्दिरका पीठाधीश महाकान्त ठाकुरले बताए ।
सरकारले घोषणा गरेको चैत्र ११ देखिको लकडाउन पश्चात मात्रै भारतीय श्रद्धालुको संख्या करिब १ लाख २५ हजार तथा ३५ सय भन्दा बढी बलि भएको भन्दै हिन्दु परम्परामाथि कुठाराघात नगर्न सरकारलाई आग्रह गर्दै अगामी दिनमा पनि यस्ता निर्णय प्रति पुनर्विचार होस उनले बताए ।
यस्तै जिल्लाको कंकालिनी मन्दिर, राजविराजको भगवती मन्दिर, पातोको डाक्नेश्वरी मन्दिर तथा राजदेवी मन्दिरमा पनि सुनसान देखिएको छ ।