अशोक झा…
राजविराज, ०१ कार्तिक। सप्तरीका विभिन्न स्थानीय तहका २८ परिवारलाई स्वरोजगारका लागि आर्थिक सहयोग प्राप्त भएको छ ।
बोदेबर्साईन नगरपालिका वडा नं. ५ का दुई परिवारलाई बाख्रा पालन, दुई परिवारलाई गाईपालन, एक परिवारलाई भैंसी पालन, एक परिवारलाई कस्मेटिक पसल र एक परिवारलाई सिलाई कटाई पसल संचालनका लागि प्रति परिवार ३० हजारका दरले सहयोग प्राप्त भएको हो ।
यसैगरी, राजविराज नगरपालिकाका १० परिवार र तिलाठी कोईलाडी गाउँपालिका वडानं. ५ का ११ परिवारलाई पनि सोहि अनुपातमा सहयोग उपलब्ध गराईएको छ । वोदेवरसाईन नगरपालिका ५ मा आयोजित एक कार्यक्रममा बोदेबर्साईन नगरपालिका वडा नं. ५ वडा अध्यक्ष मो. मजिवुर रहमानले उनीहरुलाई उक्त सहयोग हस्तान्तरण गरेका छन ।
कार्यक्रममा समग्रका कार्यकारी निर्देशक देवराज पोखरेल, भीएसओ नेपालका प्रतिनिधि मनिषा भण्डारी, वदेवरसाईन ५ का वडा सदस्य रूपनीदेवी राम , मनोविमर्शकर्ता कविता चौधरी, समग्र जन उत्थान केन्द्रका स्थानीय सहजकर्ता लोकेन्द्रप्रसाद यादव, ओमप्रकाश ठाकुर लगायतको उपस्थिति थियो ।
समग्र जन उत्थान केन्द्र लहानले संचालन गरेको समग्र लैङ्गिक उत्तरदायी न्यायमा पहुँच सुदृढीकरण परियोजना (सहज) अन्तर्गत आर्थिक सशक्तीकरण तथा आय–आर्जन क्रियाकलापका लागि उक्त सहयोग हस्तान्तरण गरिएको हो ।