अशोक झा…
राजविराज, २८ असोज । सप्तरीमा जिल्ला प्रशासन कार्यालयका नायव सुब्बासहित ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला प्रशासन कार्यालयको प्रतिलिपी फाँटका सुब्बालाई संक्रमण देखिएको हो। २७ वर्षीय उनी राजगढ गाउँपालिका वडा नं. १ का बासिन्दा हुन्। अन्य संक्रमित हुने तीनजना कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको परिवारका हुन् । असोज ८ गते मृत्य भएका ६८ वर्षीय पुरुषको २ छोरा र १ नातीमा बुधबार कोरोना संक्रमण देखिएको परिवारका सदस्यले बताएका छन् ।
मृतकका छोराहरु राजविराज नगरपालिका वडा नं. ७ का ३२ र ४० वर्षीय सहित थप ३ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् । असोज ८ गते मृत्यु भएका ६८ वर्षीय पुरुष र सिडिओ कार्यालयमा कार्यरत उनका जेठा नाती (छोरीका छोरा) २८ वर्षीय पुरुषको भदौ २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका २८ वर्षीय पुरुषको एक महिनासम्म रिपोर्ट पोजिटिभ आएपछि परिवारमा चिन्ता बढेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधवारदेखि अत्यावश्यक सेवा बाहेक अन्य सेवा तत्कालका लागि बन्द गरेको सुचना सार्वजनिक गरेको छ ।