राम नाथ महतो
राजविराज, २७ असोज । दसैं लगायतका चाडपर्व नजिकिएसँगै भारतबाट आउने क्रम नरोकिँदा जिल्लामा कोरोना भाइरस तीव्र गतिमा फैलिएको र अझै फैलिने संभावना रहेको विज्ञहरु बताउँछन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले चैतदेखि शुरु गरेको गस्तीमा कमी आए पश्चात खुला सीमाबाट नेपाल आउन सहज देखिएको छ। भारतबाट नेपाल छिर्नेहरू सोझै घरसम्म पुग्ने गरेका छन्। सुरक्षाकर्मी मुख्य नाकामा मात्रै बस्ने गरेका छन्।
जिल्लाको मुख्य नाकाहरु कुनौली भन्सार, नेउर, अन्धरा मण्ठ, लौकही, लौकहा ठाढी नाकाको प्रवेशद्वारनजिकै सशस्त्र र नेपाल प्रहरीले कडाइ गरेको देखिन्छ। तर, चोरबाटो भएर दैनिक हजारौं संख्यामा खाद्यान्न सामग्री लिन नेपाली सहजै भारत प्रवेश गर्ने गरेका छन्। भारतबाट नेपाल छिर्नेको लर्को उस्तै देखिन्छ।
‘सीमामा कडाइ गर्ने अधिकार केन्द्र सरकारलाई रहेको कारण स्थानीय सरकारले सुरक्षाकर्मीको कर्तुत हेरेर मात्रै बस्ने गरेको तिलाठी कोइलाडी गाँउँपालिका वडा नं. १ बेल्हीका शंकर साहको भनाई छ। हामीले बारम्बार भन्दा पनि अझै यसरी खुला सिमानाको फाइदा उठाउनेलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धीत निकाय समक्ष आग्रह गरे तर कुनै प्रभाव देखिएन ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले पछिल्लो समय खुला सीमाबाट आउजाउ रोक्न ध्यान नदिएको सीमा क्षेत्रका नागरिकको आरोप छ। स्थानीयले यो विषयमा जानकारी प्रहरीलाई गराए पनि ध्यान नदिएको गुनासो छ।