अशोक झा….
राजविराज, २७ असोज । बाध्यकारी श्रमको नकारात्मक प्रभाव र रोजगारदाताको दायित्व बिषयक सम्बाद तथा अन्तरक्रिया कार्यक्रम मंगलवार सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ५ मोहनपुर हरकट्टीमा मा सम्पन्न भएको छ ।
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवाको सशक्तिकरण कार्यक्रम अन्तर्गत मदन आधारभुत विधालय मोहनपुरमा सम्पन्न कार्यक्रममा बक्ताहरूले सरकारबाट तोकिएको पारिश्रमिक श्रमिकहरूले अझै पाउन नसकेको र बाध्यतामा परेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
शम्भुनाथ नगरपालिकाको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम संयोजक श्रवण कुमार यादवले बाध्यात्मक श्रमका कारण समाजमा बिभेद र द्वन्द्व सृजना भईरहेकोले असमान ज्याला र बाध्यकारी श्रमको अन्य गर्न जरूरी रहेको बताए। शम्भुनाथ नगरपालिका वडा नम्वर २ का वडाअध्यक्ष दुर्गानन्द भगतले पुरातनबादी सोच र जमिन्दारी प्रथाका कारण अझै हरवा चरवा मुक्त हुन नसकेको बताए ।
कार्यक्रममा बौधीदेवी दलित आधारभुत विधालयका प्रअ गोसाई पासवान, श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरी, लगायतले श्रममा हुने बाध्यात्मक अवस्था आउन नदिन रोजगारदाता र सरोकारबालाहरू गम्भीर हुनुपर्नेमा जोड दिए।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोजगारदाता, श्रमिक, हरवा चरवा तथा संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सामाजिक परिचालक बिजली रामले जानकारी दिए।
जिल्लामा हरवा चरवाको अवस्था, सरकारले तोकेको पारिश्रमिक श्रमिकले पाईरहेको छ छैन् , श्रम ऐन तथा श्रमिकका हितमा बनेको ऐन कानुन लगायतको बिषयमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले सहजीकरण गरे ।