अशोक झा…
राजविराज, २१ असोज । सप्तरीको रुपनीमा निर्माण भएको पूर्व क्षेत्रीय प्रहरी अस्पताल अहिले प्रदेश २ को प्रहरी अस्पताल बनेको छ ।
राजविराज नगरपालिका वडा नं. ३ निवासी दाता जोगेन्द्र भगत र उनकी पत्नीले आफ्नै जग्गामा २५ बेडको अस्पताल निर्माण गरिदिएका थिए । तत्कालिन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले २०७३ साल माघ ३ गते सो अस्पतालको उदघाटन गरेका थिए ।
अहिले प्रहरीको उपचारका साथै सर्वसाधारणको उपचार समेत यो अस्पतालले गर्न थालेको छ । ‘प्रत्येक दिन १२ देखि १५ जनासम्म सर्वसाधारण उपचारका लागि आउन थालेका छन्,’ अस्पतालका प्रमुख डीएसपी डा. सुरेन्द्र साहले भने, ‘सर्वसाधारणको उपचार पनि निःशुल्क गर्दै आएका छौं ।’
पूर्व पश्चिम राजमार्गसँग जोडिएर रहेको यो अस्पतालमा जेनरल सेवाबाहेक मधुमेह र बाथको छुट्टै उपचार हुँदै आएको छ । जेनरलमा नाक, कान, घाँटी, छाती, पेट सम्बन्धी रोगको उपचार भइरहेको अस्पताल प्रमुख डा. साहले बताए ।
यो अस्पतालमा प्रहरीको उपचार गर्ने लक्ष्य राखिएपनि अहिले सर्वसाधारण समेतको उपचार गर्न थालिएको छ । ‘उपचार गराउन आउने सर्वसाधारणलाई न त पूर्जी नै कटाउनुपर्छ नत ल्याब जाँचकै शुल्क तिर्नुपर्छ’ अस्पताल प्रमुख डा. साहले भने, “एक्सरे पनि निःशुल्क नै गर्दै आएका छौं ।”
अस्पतालमा एकजना जेनरल फिजिसियन, एकजना विशेषज्ञ, २ जना स्टाफ नर्स, २ जना हेल्थ असिस्टेन्ट र ५ जना अहेब कार्यरत छन् । अस्पतालमा १० जना सुरक्षाकर्मीले ड्युटी गर्दै आएका छन् । यसबाहेक २ जना दन्त विभागका टेक्निसियन पनि छन् ।
अस्पतालमा ४ वटा बेड आकस्मिक र २ वटा बेड प्रसुति गराउनका लागि राखिएको छ । अन्य १९ वटा बेड जेनरलका लागि छुट्टयाइएको छ ।