अशोक झा…
राजविराज, २१ असोज । नेपालीको हत्या आरोपमा एकजना भारतीयलाई कारागार चलान गरिएको छ ।
नेपालीको हत्या गरेको आरोपमा भारत विहार मधुवनी जिल्ला, लौकही प्रखण्ड, ग्राम पञ्चायत करियौत वडा नं. ८ का १९ वर्षीय प्रदीपकुमार यादवलाई पुर्पक्षका लागि राजविराज कारागारमा राखिएको हो । सप्तरी जिल्ला अदालतको आदेशमा यादव पुर्पक्षका लागि थुनामा परेको र सोही ठाउँका भारतीय २० वर्षीय देवगोरा यादव र १८ वर्षीय सरोज यादवविरुद्ध वारेन्ट जारी गरिएको अदालतका स्रेस्तेदार कुमार मास्केले बताए।
गत भदौ ६ गते सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ६ कटैयामा धानबालीमा भारतीयले भैंसी चराई रहेको बेला विवाद हुँदा स्थानीय ६५ वर्षीय किसान रामदेव यादव घाइते भएका थिए ।
गम्भीर घाइते रामदेवको उपचारका क्रममा भदौ २१ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उनका छोरा ललनले बताए।
कुटपिट गर्ने आरोपित प्रदीप र उनका बुवा चन्देश्वरलाई कटैयाका गाउँलेले तत्कालै घटनास्थलबाट नियन्त्रणमा लिएकोमा चन्देश्वरलाई छाडे पनि प्रदीपलाई भदौ १३ गते इलाका प्रहरी कार्यालय पातो हुँदै इलाका प्रहरी कार्यालय कल्याणपुरमा बुझाएको थियो ।