अशोक झा…. राजविराज, २१ असोज । सप्तरी जिल्लामा बुधवार १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार राजगढ गाउँपालिका, खडक नगरपालिका र बोदेबर्साइन नगरपालिकाका १÷१ जना, भिमदल गणका २ जना, राजविराज नगरपालिका वडा नं. ३ र वडा नं. ६ का १÷१, राष्ट्रिय वाणिज्य बैंकका दुई जना कर्मचारी र राजविराज नगरपालिका वडा नखुलेका एक महिला सहित १० जनामा संक्रमण देखिएको हो । राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ३ सय ५६ पुगेको छ भने १ हजार ६९ जनाले कोरोनालाई परास्त गर्दै घर फिर्ता गएको निमित्त प्रमुख यादवले बताए । यसैबीच पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ३९ जनामा संक्रमण देखिएको छ। यो सँगै संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधवार १४ हजार २ सय ९ नमुना परीक्षण गर्दा ३ हजार ४ सय ३९ संक्रमण पुष्टि भएको हो । काठमाडौ उपत्यकामा मात्र १ हजार ६ सय ८४ जनामा संक्रमण देखिएको छ।